काठमाडौं । नेपाल प्रहरीको उपरीक्षक (एसपी) सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई हाबी भएका छन् । उनले आफूनिकट र अख्तियारमै बसेका प्रहरी अधिकृतहरूलाई आइजीपीमार्फत राम्रो र कमाऊ हुने जिल्लाको जिम्मेवारी दिन सफल भएका छन् ।
अख्तियार प्रमुख राई मात्रै होइन, एसपी सरुवामा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमाले हाबी भएको छनक देखिन्छ । राईलाई तत्कालीन ओली सरकारले नै अख्तियार प्रमुखमा नियुक्त गरेको थियो । ओली सरकारका बेला गृहसचिवसमेत रहेका राईको प्रहरी संगठनमा प्रभाव त्यस बेलादेखिकै हो । अहिले भने राईकै निकटस्थ र प्रिय मानिएका चन्द्रकुवेर खापुङ आइजीपी रहेकै बेला आफ्ना मान्छेहरुलाई राम्रो मानिएका स्थानमा सरुवा गराउन राई सफल भएका हुन् ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले हिजो बुधबार राति अबेर ४८ जना एसपीको सरुवा गरेकोमा १० जनालाई जिल्ला प्रहरी प्रमुखको भूमिकामा सरुवा गरिएको थियो । जिल्ला प्रहरी प्रमुखको भूमिका पाउनेहरू कि त अख्तियार प्रमुख राई निकट छन् कि त एमाले निकट । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अख्तियार प्रमुख राईकै सिफारिसमा महानिरीक्षक खापुङले राईनिकट एसपीहरुलाई राम्रो र कमाउ हुने जिल्लामा प्रमुख बनाएर पठाएका छन् । स्रोतका अनुसार खापुङले लिएर गएको सरुवाको सूचीमा गृहमन्त्री अर्यालले असल नियतले नै त गर्नुभएको होला नि भन्दै सहमति जनाएका थिए ।
जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई गुमराहमा राख्दै अवकाशमा जान दुई महिना पनि बाँकी नरहेका प्रहरी महानिरीक्षक खापुङले यो किसिमले सरुवा गरेका हुन् । खापुङलाई ओली सरकारले नै महानिरीक्षकमा नियुक्त गरेको थियो । उनलाई अख्तियार प्रमुख राईको अति निकट व्यक्तिका रूपमा चिनिने गरिन्छ ।
जेनजी आन्दोलनमा अत्यधिक दमन गरेको आरोप खेपेका महानिरीक्षक खापुङलाई कारबाही या निलम्बन गर्ने चर्चा पनि चलिरहेको छ । कारबाही वा निलम्बनअघि नै प्रहरी संगठनमा आफ्नो प्रभाव कायम गराउन राईलगायतको टोली सफल भएको टिप्पणी पनि भइरहेको छ ।
सरुवा सूचि हेर्दा जिल्ला कमान्डको लाइनमा रहेका केही अब्बल प्रहरी अधिकारीलाई मौका दिइएको छैन भने काजमा पठाइएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम गरिएको छ ।
पर्साका एसपी गौतम मिश्रलाई ५ महिनामै त्यहाँबाट सरुवा गरी अख्तियारमा कार्यरत एसपी सुदीपराज पाठकलाई लगिएको छ । यद्यपि मिश्र चितवनमै ६ महिना कार्यालय प्रमुख रही काजमा वीरगञ्ज लगिएका एसपी थिए । मोरङ प्रहरी प्रमुखमा कवित कटवाललाई सरुवा गरिएको छ । उनीहरू दुवै जना अख्तियारमा बसिसकेका प्रहरी अधिकृत हुन् । उनीहरू दुवै जना अख्तियार प्रमुख राईको आशीर्वादमा कमाउधन्दा हुने जिल्लामा सरुवा हुन सफल भएका हुन् । पाठक इन्स्पेक्टर रहेका बेला ओलीको पीएसओसमेत बसेका थिए ।
यस्तै, कास्की प्रहरी प्रमुखमा सरुवा गरिएका एसपी नवीन कार्की पनि ओलीको सुरक्षा कमान्डमा बसिसकेका प्रहरी अधिकृत हुन् र यसअघि डीएसपी हुँदा अख्तियारमै बसिसकेका थिए ।
बाँके जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका अंगुर जिसी यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) रहेका बेला निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा मिस लिड गरेको भनी उनलाई कारबाही गरिएको थियो । यद्यपि पछि संगठनले नै उनको कारवाही फिर्ता लिँदै बढुवा गरेर एसपी बनाएको थियो । जिसीलाई अपराध अनुसन्धानमा कुशल अधिकृतका रुपमा चिन्ने गरिएको छ भने संगठनमा अब्बल अधिकारीका रुपमा हेर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया