काठमाडौं । कैलालीकी २२ वर्षीया हेतल खत्रीको मृत्यु दुर्घटनाबाट नभई हत्या भएको भन्दै परिवारले शीघ्र अनुसन्धानको माग गरेका छन् । बुधबार लोकपथको सम्पर्कमा आएका परिवारका सदस्यले उनको मृत्युबारे बृहत् अनुसन्धान गर्न माग गरेका हुन् ।
खत्रीको गत भदौ २३ गते सोमबार राति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको थियो । आफ्नै कोठामा चिप्लिएर लड्दा छातीमा चक्कु परेको र त्यही चक्कुको चोटका कारण मृत्यु भएको भनिएको छ ।

नमुना कलेज अफ फेसन टेक्नोलोजी, चक्रपथमा तेस्रो वर्षमा अध्ययनरत हेतल गोल्फुटारस्थित न्यु युनिभर्सल गल्र्स होस्टेलमा चार जना साथीहरूसँग एउटै कोठामा बस्दै आएकी थिइन् । उनीहरू सबै एउटै कलेजका साथै एउटै ब्याजका पनि थिए । घटना भएको दिन भने एक जना साथी बिहानै बाहिर निस्किएकी थिइन् । त्यस दिन होस्टेलमा हेतलसहित तीन जना मात्र थिए ।
कसरी भयो घटना ?
हेतलका मामा मनोजकुमार भण्डारीका अनुसार भदौ २३ गते दिउँसो उनी बालुवाखानीस्थित मामाघरमा श्राद्धमा गएकी थिइन् । साँझ ६ बजे मात्रै हेतल होस्टेल फर्किएकी थिइन् । त्यसको करिब ४-५ घण्टापछि राति ९ः३९ बजे मनोजकै छोरीको मोबाइलमा कसैले फोन गरेर ‘हेतललाई चक्कु लागेको छ, अहिले न्युरो अस्पतालमा छ, छिट्टै आउनुहोस्’ भनेर फोन गरेको भण्डारीले बताए ।

मामा मनोज तत्काल अस्पताल पुग्दा हेतललाई इमरजेन्सीमा राखेर उपचार सुरु गरिएको थियो । त्यतिबेला कसैलाई पनि भित्र जान नदिएको मनोजले बताए । अस्पतालले रगत मागेपछि मनोज रगत ल्याउन निस्कँदा उपचारकै क्रममा हेतलको मृत्यु भइसकेको जानकारी पाए ।
हत्या कि दुर्घटना ?
घटना भएको समयमा होस्टेलमै रहेका साथीहरूले दिएको बयानअनुसार सो दिन जेनजी आन्दोलन चर्किएको थियो र दिउँसो काठमाडौंमै १७ जनाको ज्यान गएको थियो । सो क्रममा हेतलले दंगा हुनसक्छ भन्दै झ्याल लगाउन टेबुलमा चढ्दा खुट्टाको ब्यालेन्स बिग्रेर टेबुलमा राखिएको चक्कुमा लागेर दुर्घटना भएको भनिएको छ ।
तर हेतलका परिवारका सदस्य भने उनका सहपाठीहरूको भनाइमा सन्तुष्ट र विश्वस्त छैनन् । परिवारका सदस्यहरूले यो घटनालाई परिस्थितिजन्य दुर्घटना नभई हत्या भएको आरोप लगाइरहेका छन् ।
घटना भएका समयमा वरपरका मानिसहरू झगडा भएको जस्तै गरी मानिसहरू चिच्याएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए । घटनास्थल पुग्दा हेतल गम्भीर अवस्थामा ओछ्यानमै रहेको पाइएको थियो ।
घटनास्थल र न्युरो अस्पतालको दूरी करिब ३ मिनेटको पैदल यात्रामा रहेको छ । तर पनि सहकर्मीहरूले तत्काल अस्पताल नलगी छिमेकीहरूले मात्रै अस्पताल लगेको कारण यो हत्या नै हुनसक्ने उनीहरूको आशंका छ । त्यसैले यो घटनाको गम्भीर भएर छानबिन गर्नुपर्ने परिवारको माग छ ।
त्यत्रो दुर्घटना हुँदा पनि टेबुलमा राखिएका अन्य सामानहरू यथाअवस्थामै हुनुले घटना शंकास्पद रहेको परिवारको आशंका छ ।
घटनाको भोलिपल्ट नै होस्टेलमा पुगेका हेतलका आफन्तका अनुसार घटनास्थलमा केही घटना नै नभएको जस्तो देखिएको थियो । मामा मनोजका अनुसार घटनास्थल (क्राइम सिन)मा सबै सामानहरू मिलाएर राखिएको जस्तै देखिएको थियो भने कोठामा रगतसमेत थिएन । झ्यालको चुकुल लगाउन खोज्दा चिप्लिएर टेबुलमा राखिएको कपमा ठाडो पारेर राखिएको अवस्थामा रहेको धारिलो चक्कुमा छाती ठोक्किँदा त्यसले छातीमै प्वाल पारेर मुटुसमेत छेडिएको भनिएको छ । तर त्यत्रो दुर्घटना हुँदा पनि टेबुलमा राखिएका अन्य सामानहरू यथाअवस्थामै हुनुले घटना शंकास्पद रहेको परिवारको आशंका छ ।
दुर्घटनापछि शवको पोस्टमार्टम गर्ने क्रममा हेतलको गोडाको औँलामा घिसारिएको जस्तो घाउ देखिएको र छातीबाहेक कम्मरमा पनि घाउ देखिएको परिवारले आरोप लगाएका छन् । डाक्टरहरूले धारिलो हतियार प्रयोग भएको र मुटुसमेत छेडिएको कारण इन्टरनल ब्लिडिङ देखिएको पीडित परिवारलाई बताएका छन् ।

होस्टेलमा अनुसन्धानमा लागि प्रहरी पुग्दा घटनास्थल सफा नै रहेको, कतै पनि रगत वा वा छटपटाहटको संकेत नदेखिएको प्रारम्भिक जानकारी परिवारलाई दिइएको थियो । साथै हेतलको ओछ्यानमा रहेको ब्ल्याङ्केटको एक भागमा रगत जस्तै देखिएकाले उक्त भाग मात्रै काटेर प्रहरीले परीक्षणका लागि लगेका थिए ।
परिवारको आशंका
हेतलका आफन्तले यो दुर्घटना नभई हत्या भएको दाबी गर्दै आएका छन् । उनीहरूको भनाइमा हेतल सुन्दर, मिलनसार, मोडलिङ र फेसन डिजाइनिङमा उत्कृष्ट थिइन् । कुनै सानो कारणले आवेगमा, प्रतिस्पर्धा वा ईर्ष्याका कारण उनको हत्या भएको हुनसक्ने परिवारको आशंका छ ।
घटना हुँदा कोठामै रहेकी दुई जना साथीविरुद्ध हेतलका तर्फबाट प्रहरीमा किटानी जाहेरी दिइएको थियो । किटानी जाहेरीपछि प्रहरीले उनीहरूलाई तत्कालै पक्राउ गरिएकामा भदौ २४ गते जेनजीको आन्दोलन चर्किएसँगै प्रहरी वृत्त महाराजगन्जले उनीहरूलाई पछि सम्पर्कमा आउनु भनेर छाडिदियो । प्रहरीमा प्रारम्भिक बयान दिने क्रममा भने दुई साथीहरूकै बयान फरक फरक रहेको आफन्तको आरोप छ ।
हेतलकी बहिनी भावना खत्रीले होस्टेलमै बस्ने रचना नाम गरेकी नर्सको भूमिकासमेत शंकास्पद रहेको आरोप लगाइन् । रचना न्युरो अस्पतालमै कार्यरत छिन् र आफूले भेट्न खोज्दा पनि उनले भेट्नै नमानेपछि अझ शंका बढेको भावनाको भनाइ छ । घटनाका सम्बन्धमा कुराकानी गर्दा फरक फरक कुरा गर्ने गरेको र घटनालाई दबाउन खोजिएको वा दुर्घटना नै हो भनी देखाउन नर्सले भूमिका खेलिरहेको उनले बताइन् ।
अनुसन्धानको अवस्था
हेतलको भदौ २३ गते राति अन्दाजी १२ बजेतिर मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । त्यसलगत्तै प्रहरीले सँगै कोठामा रहेका दुई जना साथीलाई नियन्त्रणमा लिएको थियो भने सुरुमा हेतलका मामाको तर्फबाट ती दुई सहपाठीविरुद्ध हत्यामा किटानी जाहेरी दिइएको थियो ।
जाहेरी दर्ता भई प्रहरीले भदौ २४ गते बिहानै घटनास्थल गई चक्कु र रगतजस्तो लागेको ब्ल्याङ्केटको केही भाग प्रमाणका रूपमा लगेको थियो भने घटनास्थल मुचुल्कासमेत तयार पारेको थियो । तर सोही दिन दिउँसो प्रहरी वृत्त महाराजगन्जको अवस्था बिग्रिएपछि दुई शंकितलाई होस्टेलमै फिर्ता पठाइएको थियो भने घटनास्थल मुचुल्का, दसी, प्रमाण आदि सबै आगजनीमा परी नष्ट भएको छ ।

जेनजी आन्दोलनमा प्रहरी कार्यालय ध्वस्त भई धेरै जनधनको क्षति भएपछि यतिबेला हेतलको मृत्युका सम्बन्धमा थप अनुसन्धान अगाडि बढ्न सकेको छैन । प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गर्नुपर्ने भए पनि उनीहरू आफ्नै भवन पुनर्निर्माण वा अस्थायी वासस्थानको तयारीमा छन् । घटनास्थल मुचुल्का बनाउन गएका एक प्रहरीको मृत्यु भयो भने अर्का प्रहरी सम्पर्कमा नै छैनन् ।
प्रहरी वृत्त महाराजगन्जले अनुसन्धानलाई अगाडि बढाउन नसक्ने भएपछि पीडित परिवारले जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत घटनाको अनुसन्धानका लागि जाहेरी दिएको छ । तर प्रहरीहरू उक्त घटनाको अनुसन्धान गर्न नै नगएको परिवारको गुनासो छ ।
प्रहरीहरू आन्दोलनका क्रममा मृत्यु भएकाहरूको सम्बन्धमा अनुसन्धान र प्रतिवेदन तयार पार्न तल्लीन रहेको, अनुसन्धानका लागि जनशक्ति र स्रोत साधन नै नरहेको भन्दै पन्छिरहेको परिवारको गुनासो छ ।
प्रहरीले घटनास्थल सुरक्षित राखेको कारण तत्कालै यस घटनाको अनुसन्धान सुरु गरी हत्या भएको भए संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् ।
हेतलको भदौ २६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भई दाहसंस्कार भइसकेको भए पनि पोस्टमार्टमको रिपोर्ट भने आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया