काठमाडौं । काठमाडौं तथा धरानको भाटभटेनीमा मृत्यु भएका व्यक्तिहरू आफ्नो कर्मचारी नरहेको भाटभटेनी सुपरमार्केटले जनाएको छ । भाटभटेनीका विभिन्न स्टोरमा भएको आगजनीमा १० जनाको कंकाल फेला परेको थियो ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देशभरका भाटभटेनीमा आक्रमण हुँदा काठमाडौंको चुच्चेपाटीमा ६ जना र धरानमा ४ जनाको मानव कंकाल फेला परेको थियो ।
उनीहरू सबैको जलेर मृत्यु भएको छ र उनीहरूको शव चिन्न सकिने अवस्थामा छैन ।
कतिपय शवको कंकाल मात्रै फेला परेको छ ।
यसैबिच भाटभटेनीले आफ्ना सबै कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ ।
आइतबार लोकपथसँग कुराकानी गर्दै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु दत्त पौडेलले भाटभटेनीको भग्नावशेषमा फेला परेका कुनै पनि कंकाल आफ्ना कर्मचारीको नभएको बताए ।

उनले भने, ‘हालसम्मको जानकारीमा हाम्रा सबै कर्मचारीहरू सुरक्षित रहेका छन् र कोही पनि हराएको भन्ने जानकारी आएको छैन । कोही हराएको भए त परिवारबाट पनि खोजी हुन्थ्यो होला । त्यस कारण हाम्रा सबै कर्मचारी सुरक्षित नै छन् भन्ने हामीले बुझेका छौँ ।’
त्यसो भए ती मृत्यु हुनेहरू को थिए त भन्ने प्रश्नमा प्रमुख सञ्चालन अधिकृत पौडेलले अनभिज्ञता जनाउँदै जसको मृत्यु भएको भए पनि त्यो दुखद रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया