काठमाडौं । गाजामा इजरायली आक्रमणमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
प्यालेस्टिनी स्रोतहरूका अनुसार बुधबार गाजा शहरमा आवासीय घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा महिला र बालबालिकासहित ४६ जनाको ज्यान गएको हो ।
त्यस्तै, शहरको उत्तरी भाग शेख रदवान छिमेकको भीडभाड भएको बजारमा इजरायली ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको र २० जना घाइते भएको जनाइएको छ ।
गाजाको नागरिक रक्षाका प्रवक्ता महमूद बसालका अनुसार शेख रदवान छिमेकस्थित मुख्य क्लिनिक, विस्थापितलाई बसोबास गराइएका विद्यालय र दुई एम्बुलेन्समा समेत इजरायली ड्रोनहरूले बमबारी गरेका छन् ।
यसैगरी, मध्य गाजाको नेत्जारिम अक्षस्थित सहायता वितरण केन्द्र नजिक खाना प्राप्त गर्ने प्रयास गर्नेहरूलाई इजरायली सेनाले गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ ।
दक्षिणी गाजाको खान युनिस शहरमा भएको आक्रमणमा दुई महिलासहित १० जनाको ज्यान गएको बताइएको छ ।
अक्टोबर ७, २०२३ देखि गाजामा जारी इजरायली सैन्य अभियानमा हालसम्म ६३ हजार ७४६ जनाको मृत्यु भइसकेको छ भने १ लाख ६१ हजार २४५ जना घाइते भएका छन् । यससँगै भोकमरी र कुपोषणका कारण मात्रै १३१ बालबालिकासहित ३६७ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया