ल्यान्डमार्क होटेलले एनआइसी एसिया बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने

लोकपथ
105
Shares

काठमाडौं । ल्याण्डमार्क होटेल एन्ड रिसोर्टले एनआइसी एसिया बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको छुट दिने भएको छ । होटेल र बैंकबिच एक समझदारी भई एनआइसीका ग्राहकलाई होटेल तथा रिसोर्टमा छुटको व्यवस्था गरिएको हो ।

बैंक र ल्याण्डमार्क होटेलबिच गत अगस्ट १७ अर्थात् भदौ १ गते नै दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति अनुसार अब एनआइसी एसिया बैंकका ग्राहकहरूले ल्याण्डमार्क होटेल तथा रिसोर्टमा बास बस्दा रुम चार्जमा १५ प्रतिशतको छुट प्राप्त गर्नेछन् भने खाना र पेय पदार्थमा १० प्रतिशतको छुट पाउनेछन् ।

छुट पाउनका लागि भने एनआइसी एसिया बैंकको ग्राहक रही क्रेडिट वा डेबिट कार्डबाट पिओएस कारोबार, क्युआर कोड वा मोबाइल बैंकिङमार्फत कारोबार गर्नुपर्नेछ । साथै एनआइसी एसिया बैंकको कुनै पनि कार्ड देखाएर नगद भुक्तानी गर्दा समेत यो छुट प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ ।

सहमति पत्र अनुसार एनआइसी एसिया बैंकका ग्राहकले यो सुविधा ल्याण्डमार्क होटेल तथा रिसोर्टको पोखरा, चितवनको सौराहा तथा भरतपुर, तनहुँ, भैरहवा र काठमाडौंमा समेत प्राप्त गर्न सक्नेछन् ।

सहमतिपछि एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरूका छुटका लागि ल्याण्डमार्कसँग सम्झौता हुनु सुखद रहेको बताएको छ । ग्राहकलाई छुट तथा सर्वोत्तम मूल्यमा सेवा दिनका लागि सहकार्य भएको भन्दै यसले ग्राहक, बैंक र होटेल सबैलाई फाइदा पुग्ने विश्वास लिएको बताएको छ ।

यता ल्याण्डमार्क होटेलले पनि बैंकसँगको सहकार्यले आफ्नो व्यापार व्यवसायमा थप सफलता मिल्ने र ग्राहकहरूले समेत अतिरिक्त लाभ प्राप्त गर्ने भन्दै यसले आतिथ्य सत्कारलाई थप उचाइमा पुराउन सहयोग गर्ने अपेक्षा रहेको जनाएको छ ।
ल्याण्डमार्क होटेल तथा रिसोर्ट देशका मुख्य सहरहरूमा आतिथ्य सत्कारका लागि खुलेको होटेलहरूको समूह हो ।

ल्याण्डमार्कले काठमाडौं, पोखरा, चितवनको सौराहा तथा भरतपुर, तनहुँको देवघाट र भैरहवामा समेत होटेल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?