‘नाडा अटो शो २०२५ः ईभीको बाढीमा कुन कारले जित्ला उपभोक्ताको मन ?

चर्चामा टाटादेखि एलएस अटोसम्म !

लोकपथ
105
Shares

काठमाडौं । नेपालको अटो मोबाइल क्षेत्रलाई ‘भविष्यको झल्को’ दिने ठुलो आयोजना ‘नाडा अटो शो, २०२५’ मंगलबारबाट सुरु भएको छ । १७ औँ संस्करणको यो अटो शो को मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

१७ औँ संस्करणको नाडा अटो शो मा यस पटक उड्ने कारदेखि, ह्युमनोइड रोबोट, एआई जनावर र २० लाखदेखि डेढ करोडसम्मका दर्जनौँ विद्युतीय गाडीहरू प्रदर्शनमा राखिएको छ ।

यस पटकको नाडा अटो शो मा कुन कम्पनीको कुन कारले सबैको मन जित्ला भन्ने कौतुहलता समेत जन्माएको छ । यस पटकको नाडा अटो शो मा मुख्यतः ईभी गाडी र कारकै वर्चस्व रहनेछ । २० भन्दा बढी नयाँ मोडल सार्वजनिक गरिने यस शोमा चीन, भारत, जापान, नेपालका अग्रणी ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन् ।

यस पटकको नाडा अटो शोमा चर्चामा रहन सक्ने केही मोडेलहरू यहाँ प्रस्तुत गरिएको छ ।

१. टाटाको ह्यारियर ईभी :
अफ रोड प्रयोगका लागि उच्च क्षमतायुक्त एसयुभी कार हो टाटाको ह्यारियर ईभी । यो कारलाई उच्च क्षमतायुक्त एसयुभी कार मानिएको छ जसले लामो दुरीको रेन्ज दिनेछ ।

टाटा ह्यारियरले एक पटक फुल चार्ज गरेपछि राजमार्गमा ४२० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । यो गाडी २० सेकेन्डमै शून्य बाट एक सय किलोमिटरको रफ्तारमा दौडन सक्छ भने यसको ग्राउन्ड क्लिअरेन्स पनि २०५ एमएमको छ, जसले अफ रोड र उबडखाबड सडकमा राम्रो प्रदर्शन गर्न सक्नेछ ।

२. मारुतीको ई–भिटाराः

सुजुकीको पहिलो पूर्ण विद्युतीय एसयूभी कार हो ई भिटारा । यसअघि भिटारा कारबाट उत्साहित बनेको सुजुकीले ई भिटारा कार सार्वजनिक गरेको हो ।

३ सय किलोमिटर रेन्ज दिने र ४० मिनेट चार्ज गर्दा ८० प्रतिशत चार्जिङ गर्न सक्ने उच्च क्षमताको यस एसयुभी कारमा १८० एमएमको ग्राउन्ड क्लिअरेन्स रहेको छ । परिवारसँगै हिँडडुल गर्न र घुम्नका लागि उपर्युक्त मानिएको यो कार नेपाली बजारका लागि उपयोगी हुने र धेरैको रोजाइमा पर्ने अनुमान गरिएको छ ।

सिजी मोटोकर्पले नाडा अटो शोमा प्रदर्शनमा ल्याउन लागेको ई भिटारा कारमा साधारण डिजाइन तर किफायती प्रयोग हुने र परिवारका लागि उपर्युक्त हुने दाबी गरिएको छ ।

३. बिवाइडीको एटो-२ :
नाडा अटो शोमा अर्को आकर्षणको केन्द्र बन्ने कार हो, बिवाइडीको एटो टु । पहिलेको एटो थ्री भन्दा सस्तो मूल्यमा आउने यो कार सहरी युवाहरूको ड्रिम कार बन्ने दाबी गरिएको छ । सहरी प्रयोगका लागि उपर्युक्त मानिएको यस कार मध्यम वर्गीय युवा र उपभोक्ताको नजरमा पर्ने कार दाबी गरिएको छ ।

यो कार बिवाडीको एटो थ्री कारभन्दा २५ प्रतिशत सस्तो हुने बताइएको छ । यो कारमा टु–डोर कम्प्याक्ट बडी रहेको छ जसले काठमाडौंको ट्राफिकमा सहजता प्रदान गर्नेछ । यो कारले एक पटक फूल चार्ज गर्दा २५० किलोमिटरको माइलेज दिनेछ जुन सहरी प्रयोजनका लागि पर्याप्त हो ।

४. दीपलको एस जिरो फाइभ र एस जिरो सेभनः

नाडा अटो शोमा केन्द्रमा रहने अर्को कार हो, दिपलको एस जिरो फाइभ र एस जिरो सेभन कार । नेपालमा एमएडब्लु वृद्धिले आयात गरेको यी कारहरू अटो शोमा उपभोक्ताको नजरमा पर्ने कार हो ।

दिपलको एस जिरो फाइभ कार मध्यम आकार, प्रविधि–सन्तुलित रहेको छ र यो सहरी प्रयोगका लागि उपर्युक्त मानिएको छ ।
त्यसै गरी एस जिरो सेभेन कार लक्जरी सेग्मेन्टको कार हो जहाँ प्यानोरामिक सनरूफ, हाड–फ्री डिस्प्ले र ७ सय किलोमिटरसम्मको रेन्ज दिने कार हो ।

५. एक्सपेङको एक्स नाइनः

नेपालमा पहिलो पटक लक्जरी ईभी एमपिभी अर्थात् मल्टी पर्पोस भेइकल हो, एक्सपेंगको एक्स नाइन । स्मार्ट सुविधा भएको यो कारले ४ सय ८० किलोमिटरको रेन्ज दिने बताइएको छ भने १० मिनेटमै ३ सय किलोमिटर रेन्ज दिने गरी सुपर फास्ट चार्ज गर्न सकिने दाबी गरिएको छ । यो कारको ग्राउन्ड क्लिअरेन्स करिब २ सय एमएमको हुने बताइएको छ ।

यो कारमा एयर सस्पेन्सन, रियर–व्हील स्टियरिङ, हाई–टेक एडीएस जिरो ग्राभिटी सिट, सिक्स डी सस्पेन्सन प्रणाली, मनोरञ्जनात्मक कम्पोनेन्टस लगायतका विविध सुविधा पाइनेछ ।

६. चाङगन लुमिन :

नाडा अटो शोमा सबैभन्दा सस्तो मूल्यमा प्राप्त गर्न सकिने दाबी गरिएको कार हो लुमिन चाङगन कार । चीनको चाङगन कम्पनीले निर्माण गरेको यो लुमिन नामक कार कम्प्याक्ट र मिनी कारका रूपमा रहनेछ । छोटो दूरीको सहरी यात्राका लागि लक्षित गरिएको यो मोडेलको कारले करिब १ सय ५० किलोमिटरको रेन्ज दिने बताइएको छ । यो मोडेलको कार केई, एमजीको कोमोट र डोङफेङ मिनी ईभीसँग प्रतिस्पर्धामा उत्रन सक्ने कारका रूपमा हेरिएको छ ।

७. एलइभी जिरो फाइभ र एलइभी एक्स

नाडा अटो शोमा चर्चामा आउन सक्ने कारहरू हुन्, एलएस अटोले नेपालमा भित्राएको एलइभी जिरो फाइभ र एलइभी एक्स । कम्पनीले सार्वजनिक गर्न लागेको एलइभी जिरो फाइभ प्रिमियम ह्याचब्याक कार हो जसमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यता एलइभी एक्स भने फोर ह्वील ड्राइभ एसयुभी कार हो जसले स्पोटी लुक र अफ रोडमा उत्कृष्ट क्षमता प्रदर्शन गर्ने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?