काठमाडौं । चीनको मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीमा परी ८ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् ।
चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार शनिबार राति करिब १० बजे उराद रियर ब्यानर क्षेत्रमा यो घटना भएको हो ।
स्थानीय स्रोतका अनुसार १३ जनाको एउटा समूह खुला ठाउँमा डेरा जमाइरहेको बेला अचानक आएको बाढीले उनीहरूलाई बगाएको थियो । घटनापछि एक जनालाई जीवितै उद्धार गरिएको छ भने चार जनाको खोजी कार्य जारी छ ।
चिनियाँ सरकारले उद्धार तथा राहत प्रयासलाई तीव्र बनाउन आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा पठाइएको जनाएको छ ।
गर्मी महिनामा चीनमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । यसअघि साउनको सुरुवातमा उत्तरपश्चिम चीनमा आएको बाढी र पहिरोका कारण कम्तीमा १३ जनाको मृत्यु भएको थियो । गत महिना राजधानी बेइजिङमा परेको भारी वर्षाले ४४ जनाको ज्यान लिएको थियो भने छिमेकी हेबेइ प्रान्तमा पहिरोमा ८ जनाको मृत्यु भएको थियो ।
विशेषज्ञहरूका अनुसार वातावरणीय परिवर्तनका कारण बाढी, पहिरो र अत्यधिक वर्षाजस्ता विनाशकारी प्रकोपहरू चीनमा झन् बढ्दै गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया