प्यालेस्टाइनलाई राज्यको मान्यता दिने देशहरू बढ्दै,  अस्ट्रेलिया पनि पक्षमा उभियो

लोकपथ
651
Shares

सिड्नी । अस्ट्रेलियाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको छ । बेलायत, फ्रान्स र क्यानडापछि अस्ट्रेलियाले पनि यो योजना अघि सारेको हो । आगामी सेप्टेम्बरमा अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना अघि सारेको हो । 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संयुक्त राष्ट्र संघको महासभामा यो कदम चालिने बताएका छन् । उनले प्यालेस्टिनी प्राधिकरणबाट प्रतिबद्धता प्राप्त भएपछि यो निर्णय गरिएको बताएका छन् । ‘मध्यपूर्वमा हिंसाको चक्र तोड्न र गाजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न दुई–राज्य समाधान नै मानवताको लागि सबैभन्दा राम्रो आशा हो,’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भनेका छन् । 

प्रधानमन्त्री अल्बानिजले आफ्नो सरकारले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासबाट भविष्यमा हमासको राज्यमा कुनै भूमिका नहुने प्रतिबद्धता प्राप्त गरेपछि यो निर्णय गरिएको बताएका छन् । उनले विगत दुई सातामा बेलायत, फ्रान्स, न्युजिल्याण्ड र जापानका आफ्ना समकक्षीहरूसँगको कुराकानीपछि यो निर्णय गरेको पनि जानकारी दिएका छन् ।

इजरायल भने प्यालेस्टिनी राज्यलाई कुनै पनि हालतमा मान्यता दिन नहुने अडानमा छ । यस्तो गर्नु भनेको ‘आतंकवादलाई पुरस्कार दिनु’ बराबरको भएको इजरायलले बताउँदै आएको छ । पछिल्ला दिनमा गाजामा युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब बढिरहेको छ ।

प्यालेस्टिनी प्राधिकरणले राज्यको मान्यताले आफ्ना जनताको आत्मनिर्णयको लागि बढ्दो समर्थन देखाएको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?