डीसी । इजरायल र हमासबीच जारी हिंसात्मक द्वन्द्वका कारण गाजा क्षेत्रमा भोकमरीको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको छ ।
यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ‘गाजामा भोकमरी छैन’ भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै गाजाको स्थिति वास्तविक भोकमरी भएको बताएका छन् ।
ट्रम्पले सोमबार बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटका क्रममा गाजामा खाद्य संकट र मानवीय अवस्था गम्भीर बन्दै गएको बताएका हुन् । ‘गाजामा सबैलाई खाना मिलिरहेको छैन,’ट्रम्पले भने, ‘हामी आफैंले त्यहाँ खाना पुर्याउने व्यवस्था गर्छौं, खाद्य केन्द्रहरू निर्माण गर्छौं ।’
ट्रम्पले गाजाका बालबालिकाको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, ‘कसैको आँखाबाट केही बालबालिकाको अवस्था देख्दा त्यो वास्तविक भोकमरी हो भन्ने कुरामा कुनै शङ्का रहँदैन । यसलाई झूट भन्न सकिँदैन ।’
उनले गाजामा खाद्यान्न वितरणका क्रममा विभिन्न अवरोधहरू भइरहेको उल्लेख गर्दै हमास वा अन्य पक्षले वितरणमा अवरोध गरिरहेको पनि जनाए । ‘खाद्य लाइनहरू छन्, तर तिनलाई रोकिएको छ । यी अवरोधहरू हटाउनै पर्छ,’ उनले जोड दिए ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, सन् २०२५ को जुलाई महिनामा मात्रै गाजामा कुपोषणका कारण ६३ जनाको मृत्यु भइसकेको छ, जसमा धेरैजसो ५ वर्षमुनिका बालबालिका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले भने यो संख्या अझ बढी -८२ पुगेको जनाएको छ ।
ट्रम्पको भनाइ र अमेरिकाको तयारीले गाजाको मानवीय संकटप्रति अन्तर्राष्ट्रिय ध्यान झनै केन्द्रित गराएको छ । इजरायली नेतृत्वको अडान विपरीत ट्रम्पको धारणा आउनु गाजामा सहयोगको ढोका खोल्ने नयाँ संकेतका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया