कम्बोडिया–थाइल्याण्ड युद्धविराममा सहमत, ट्रम्पको मध्यस्थता सफल

लोकपथ
539
Shares

काठमाडौं । कम्बोडिया र थाइल्यान्ड अन्ततः युद्धविराम गर्न सहमत भएका छन् । यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको हो ।

राष्ट्रपति ट्रम्पले दुई देशबिचको झडप शान्त गर्न अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनालाई दुवै पक्षले स्वीकारेको जनाएका छन् । उनले भनेका छन्, ‘जबसम्म युद्ध रोकिँदैन, अमेरिका कुनै पनि व्यापार सम्झौताबारे छलफल गर्न तयार छैन ।’

यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकी प्रस्तावको स्वागत गर्दै आफ्नो सरकार वार्ता र शान्तिका पक्षमा रहेको बताएका थिए । प्रधानमन्त्री सेनले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोसँग आफ्ना विदेशमन्त्रीमार्फत युद्धविरामबारे संवाद भइरहेको बताएका थिए ।

सीमा विवादका कारण पछिल्ला दिनहरूमा दुई देशबिचको तनाव उत्कर्षमा पुगेको थियो । तनावका बिच कम्बोडियाले थाइल्यान्डमाथि हवाई हमला गरेको आरोप लागेको थियो । उक्त सैन्य झडपमा हालसम्म ३२ जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । सीमा विवाद एक्कासि चर्किँदा दुवै पक्षबाट शक्तिशाली अस्त्रहरू प्रयोग भएका छन् । द्वन्द्वमा दशौँ हजार मानिसहरू विस्थापित भएका छन् ।

थाइल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको छ ।

क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लंघन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर–हिन्दु मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो ।

दुई देशबिच १०० वर्षभन्दा अघिदेखि नै सीमा विवाद छ । फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि विवाद उत्पन्न भएको थियो ।

त्यसयता दुई देशका सैनिकहरूबिच फाट्टफुट्ट भिडन्त हुँदै आएको छ । दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?