काठमाडौं । चन्द्रागिरि हिल्सले साउनको प्रत्येक सोमबार साँझ हुने आरतीमा सहभागी हुनेलाई केबलकारको टिकटमा ५१ प्रतिशतको छुट दिने भएको छ । हिल्सले आरती विशेष अफर ल्याउँदै भारी छुटको योजना ल्याएको हो ।
प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम चन्द्रागिरि हिल्सले ल्याएको अफरमा साउन महिनाको प्रत्येक सोमबार साँझ ४ बजेपछिको केबलकारको टिकटमा ५१ प्रतिशत छुटको व्यवस्था गरेको हो । हाल केबलकारको दुईतर्फी टिकटको मूल्य ८२५ रुपैयाँ रहेकामा प्रत्येक सोमबार साँझ ४ बजेपछि लिने टिकटमा ५१ प्रतिशतभन्दा बढीको छुट दिई ४ सय रुपैयाँमै विक्री गर्ने भएको हो ।
साथै साउन महिनाभरका सोमबारका लागि त्यहाँ जाने पर्यटक तथा सेवाग्राहीलाई केबलकारको टिकटमा २५ प्रतिशत छुट दिने समेत घोषणा गरिएको छ ।

आराध्य देव भगवान् महादेवको महिनाका रूपमा रहेको साउन महिनाको प्रत्येक सोमबार साँझ चन्द्रागिरि मन्दिरमा आरतीको विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
चन्द्रागिरि डाँडा अर्थात् मन्दिरलाई पनि एक शक्ति पीठका रूपमा पुज्ने गरिएको छ । यहाँ सतीदेवीको भाल पतन भएको विश्वास गरिन्छ । सतीदेवीको भारल पतन भएको कारण यसलाई शक्ति पीठका रूपमा भालेश्वर मन्दिर भनिएको हो, जहाँ शिवको तपस्या हुन्छ ।
धार्मिक विश्वास अनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवी अर्थात् पार्वतीको पहिलो अवतार रहेकी उनी आफ्नै पिताको यज्ञमा फाल हानेर मृत्युवरण गरेकी थिइन् । सतीदेवीको मृत्युबाट दुखी बनेका भगवान् शिवले उनको शव बोकेर ताण्डव गर्न थालेपछि सृष्टिमा संकट ल्याएको भन्दै भगवान् विष्णुले सुदर्शन चक्रको प्रयोग गरी सतीदेवीको अंगहरु काटी विभिन्न भागमा पतन गराएको विश्वास गरिन्छ । शरीरका ५१ अंग पतन गराउँदा चन्द्रागिरि डाँडा अर्थात् भालेश्वर मन्दिर रहेको स्थानमा भाल अर्थात् निधारभन्दा माथिको कपाल आउने भाग पतन भएको विश्वास गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया