एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

लोकपथ
2.6k
Shares

काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान केहीबेरमै दुर्घटनाग्रस्त भएपछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले दिएको रिपोर्ट अनुसार दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको छ ।

प्रतिवेदनमा उल्लेख छ कि ककपिटमा रहेका इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत हुँदा दुवै इन्जिनमा इन्धन आपूर्ति अचानक रोकिएको थियो । ब्ल्याक बक्सबाट प्राप्त ४९ घण्टाको उडान डेटा र २ घण्टा ककपिट अडियो विश्लेषणले यस घटनालाई पुष्टि गरेको छ । एक पाइलटले अर्कोलाई ‘किन कटअफ गर्यौ’ भनेर सोध्दा जवाफ ‘मैले गरेको होइन’ आएको थियो ।

बोइङ ७८७ मा ती स्विचहरू सुरक्षा प्रणालीले सुरक्षित राखिएको र गल्तीले बन्द हुन नदिने व्यवस्था भए पनि स्विच कसरी ‘कटअफ’ मा पुगे भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको छ ।

उडानको केही क्षणमै जमिनमा खसेको विमानमा २६० जनाको मृत्यु भएको थियो भने केवल एक जना मात्र बाँच्न सफल भएका थिए । एएआईबीले यो प्रतिवेदन प्रारम्भिक भएकाले पूर्ण अनुसन्धानपछि मात्र अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?