काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पूर्व सचिव किशोरजंग कार्की नियुक्त भएका छन् । उनले हिजो सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् ।
शपथ ग्रहणपछि उनले प्रभु बैंक सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गर्दै औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । शपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना, बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावललगायत प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए ।
कार्की मिति २०८१ मंसिर २९ गते सम्पन्न बैंकको २३औँ वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा निर्वाचित भएका थिए । त्यसपछिको मिति २०८२ असार १९ गते बसेको सञ्चालक समितिको ३८०औँ बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका कार्कीले सरकारी सेवामा ३८ वर्षभन्दा बढी योगदान दिएका छन् । उनले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यसैगरी, निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको रूपमा पनि उनले कार्यसम्पादन गरेका थिए । साथै, नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद् तथा कृषि अनुसन्धान कोषका सञ्चालक समितिमा सदस्य रहँदै विविध क्षेत्रमा अनुभव बटुलेका छन् ।
कार्कीको समृद्ध अनुभव र नेतृत्व क्षमताबाट बैंकको व्यावसायिक विस्तार तथा प्रविधिमैत्री सेवा प्रणाली थप सबल हुने विश्वास बैंकले लिएको छ । शेयरधनी, ग्राहक र सरोकारवालाहरूका लागि उनको नेतृत्व गौरवको विषय भएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया