राजनीतिमा मस्कको प्रवेश : ‘अमेरिका पार्टी’ नामक नयाँ दलको घोषणा

लोकपथ
1.3k
Shares

एजेन्सी । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषण गरेका छन् । एलन मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल गठनको घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग देखिएको मतभेदपछि मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेको सोसल मिडिया ‘एक्स’ मार्फत् जानकारी दिएका छन् ।

यद्यपि, शनिबारसम्म संघीय निर्वाचन आयोगमा यो पार्टीको औपचारिक दर्ता भएको कुनै प्रमाण नदेखिएको बीबीसीले जनाएको छ ।

उनले  शनिबार एक्सको एउटा पोष्टमा लेख्दै भने, ‘२ देखि १ को अनुपातमा जनताले नयाँ राजनीतिक दल चाहन्छन् र त्यो अब हुनेछ ।’

मस्कका अनुसार यो नयाँ दलले अमेरिका भित्रको ‘फोहोर र भ्रष्टाचारलाई’ हटाउँदै नागरिकको स्वतन्त्रता फिर्ता ल्याउने लक्ष्य राखेको छ ।

मस्क, जो दक्षिण अफ्रिकामा जन्मिएका कारण अमेरिकी राष्ट्रपतिको लागि अयोग्य छन्, आफैँ पार्टीको नेतृत्व लिने नलिने विषयमा चुप छन् । उनले अहिलेसम्म कसैलाई पार्टीको नेतृत्वको लागि नामांकन पनि गरेका छैनन् ।

मस्क गत निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि मुख्य सहयोगी बनेका थिए । टम्पलाई जिताउन उनै मस्कले ठूलो धनराशी खर्च गरेका थिए ।

ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि उनलाइ ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका थिए ।

केही समयसम्म ह्वाइट हाउसस्थित ओभल अफिसमा ट्रम्पसँगै मस्कको पनि चहलपहल थियो । तर दुईबिच कुरा नमिलेपछि केही समयअघि मस्क राजीनामा दिएर हिँडेका थिए ।

मस्कले अमेरिकामा रहेको रिपब्लिकन र टेमोक्र्याटिक दुई दलको दबदबा अन्त्य गर्ने गरी आफूले पार्टी घोषणा गरेको समेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?