आफूमाथि बिनाकारण निरन्तर नकारात्मक र सुन्नै नसिकने अनावश्यक कमेन्टहरु आउन थालेपछि गायिका एलिना चौहान बुधबार भने सामाजिक सञ्जालमा कडै रुपमा प्रस्तुत भइन् । उनले सामाजिक सञ्जालमा लेखेको स्ट्टयाटसदेखि पोस्ट गरेको तस्बिर र रिल्समा गएर हेर्ने हो भने धेरै नकारात्मक कमेन्ट गर्ने र खिसिटिउरी गर्नेहरुको भीड नै हुन्छ । कुनै गल्ती गरेको भए त ठिकै हो, सेलिब्रेटीमाथि सभ्य भाषामा सुझाव र आलोचना गर्नुलाई संसारभरी सामान्य नै मानिन्छ । तर व्यक्तिगत चरित्रमाथि नै प्रश्न उठाउँदै आत्म स्वाभिमानमा नै चोट पुर्याउन थालेपछि भने जो कोही पनि चर्को हुन बाध्य हुन्छ ।
पछिल्लो समय चर्चित र व्यस्त गायीका हुन्, एलिना चौहान । करियरको छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल उनै एलिनाको बिबाह गरेको एक वर्ष नै नपुगी सम्बन्ध विच्छेद भयो । उनीमाथि आउने नकारात्मक कमेन्ट र गालीहरुमा उनको वैवाहिक कुरालाई मुख्य बनाइन्छ । उनले आफैँले मनपराएको केटासँग बिहे गरिन्, कुरा मिलेन, चित्त बुझेन, कानुनी रुपमा सम्बन्ध बिच्छेद गरिन्, एक्लै बसिन् कुरा यत्ति त हो । सम्बन्ध विच्छेदपछि उनी थप बलियो भएर अघि बढ्ने दृढता देखाइरहेकी छन्, जुन उनको सामाजिक सञ्जालमा देख्न सकिन्छ । धर्मकर्मतिर समेत रुची देखाउने उनी सम्बन्ध बिच्छेदपछि भने ओशो सन्यासी बनेको, ध्यान गरेको, स्वामी आनन्द अरुणसँग दिक्षा लिएको तस्बिरहरु सामाजिक सञ्जालमा देखिए । उनको व्यक्तिगत जीवनभित्र छिरेर पनि तथानामा गाली गर्ने र हाँसेर बाँच्नका लागि प्रयासहरुलाई निमिट्यान्न बनाउनेहरु कमी देखिएनन् ।

उनले बिहे गर्दा पैसा देखेर व्यवसायीसँग विहे गरेको भन्दै कटाक्ष गर्नेहरु थिए, पुनः सम्बन्ध विच्छेद भएपछि पैसाका लागि नै सम्बन्ध विच्छेद गरेको भन्दै सामाजिक सञ्जालमा लखेटिएको थियो । तर ०८१ साल माघ २९ गते सामाजिक सञ्जालमा भावकु स्ट्टयास लेख्दै उनले आफूले कानुनी रुपमा पाउने सम्पत्ति समेत नलिएको भन्दै जोसँग सम्बन्ध विच्छेद भयो उसैलाई सुन्दर शब्दहरु दिँदै सम्बन्धलाई विश्राम दिएको घोषणा गरेकी थिइन् । त्यसमा समेत केही सामाजिक सञ्जालका भाइरसहरु पसेर नकारात्मक टिप्पणी गरेका थिए ।
उनले सामाजिक सञ्जालमा आफ्नो वैवाहिक जीवनको अन्त्यबारे यसरी लेखेकी थिइन्
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।
त्यसपछि उनले आफूलाई मानसिक रुपमा बलियो बनाउन विभिन्न प्रयासहरु गरिन् । तर सामाजिक सञ्जाल प्रयोगका केही भाइरसहरु भने त्यहाँ पनि व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउँदै सुन्नै नसकिने शब्दहरु प्रहार गरिरहे । सामाजिक सञ्जालमा धेरै चासो राख्ने उनले आफूमाथि आउने सकारात्मक र नकारात्मक टिप्पणीहरुप्रति निगरानी गरिन् र सोही अनुसारका प्रतिक्रियाहरु दिइरहेकी थिइन् । तर उनीमाथि पूर्वपतिको विषयलाई लिएर निरन्तर घोचपेच र अश्लिल शब्दहरु आउन थालेपछि भने उनले ‘हेटस्पीच’ दिनेहरुलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सार्वजनिक रुपमै परिचित बनाइरहेकी छिन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै र स्ट्याटस लेख्दै उनले आफूमाथि हेटस्पीच दिनेहरुलाई सामाजिक सञ्जालमा भाइरल बनाउने चेतावनी दिएकी थिइन् । त्यती हुँदा समेत हेटस्पीच दिनेहरु सतर्क नबन्दा अहिले गालीका पात्र बनेका छन् । जुन अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि अधिकांशले भने माफी मागेर आगामी दिनमा त्यस्तो नगर्ने बचन दिएपछि एलिनाले माफी दिँदै पोस्टहरु समेत हटाएकी छन् ।
एकातिर छोटो समयमा वैवाहिक सम्बन्ध जोडिएकोदेखि सम्बन्ध विछोडसम्म । त्यसले मानसिक रुपमा पारेको असरलाई कम गर्न समाजको साथ र सहयोग अवश्य चाहिन्छ । तर सुभेच्छा र आँट भरोसा दिनु त कता हो कता उल्टै विभिन्न लान्छानाहरु लगाएर सामाजिक रुपमा विस्तापित गराउन खोज्नेहरुलाई एलिनाले सिकाएको सबकको सबैतिर प्रशंसा भइरहेको छ ।
सेलिब्रेटीमाथि सामाजिक सञ्जालमा ‘हेट स्पीच’ आएको यो मात्रै घटना भने होइन । अहिलेकी अर्की चर्चित गायीका समीक्षा अधिकारी पनि लामो समयदेखि त्यसको शिकार बनेकी छन् ।

नायक पल शाहसँगको विषय अदालती प्रक्रियाबाट टुंगो लागिसक्दा समेत उनीमाथि समेत सोही विषयलाई लिएर निरन्तर प्रहार भइरहन्छ । सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समीक्षामाथि गालीको वर्षा नै हुन्छन् । उनीमाथि त सामाजिक सञ्जालमा मात्र होइन मेला महोत्सवमा जाँदा समेत व्यक्तिगत चरित्र हत्या गर्ने गाली आयो । कतै ढुंगा समेत प्रहार भयो । तर समीक्षा त्यसमा निरन्तर डटेर लागिरहिन्, पत्थरको जवाफ फूलले दिइरहिन् । तर पनि अझै उनलाई सामाजिक सञ्जालमा गलत शब्दहरुले लखेट्ने क्रम भने रोकिएको छैन । सुन्ने नसिकने गाली गर्नेहरुलाई समीक्षाले पनि एलीनाले जस्तै सामाजिक सञ्जालमा भाइरल बनाइदिएकी छिन् ।
यता गत अप्रिलमा नायीका रिचा शर्मामाथि पनि त्यस्तै गालीहरु आयो । बिना कारण उनीमाथि हेर्न, पढ्न र सुन्नै नसकिने गालीहरु आउन थालेपछि उनले पनि सोही अभियान चलाएकी थिइन् । उनीमाथि बिनाकारण अश्लिल शब्दहरुले गाली आउन थालेपछि उनीहरुको फेसबुकमा प्रोफाइल लिंक र गालीसहितको तस्बिर नै सार्वजनिक गरिन् । गाली गर्ने अधिकांशले माफी माग्दै भिडियो र सन्देशहरु पठाउन थालेपछि भने उनले माफि दिएकी थिइन् ।
कुरा, एलीना, समीक्षा र रिचा शर्माहरुको मात्र होइन, कुरा हाम्रो समाजको हो, कुरा नैतिकताको हो र हो, हाम्रो कानुनको उपहासको । गल्ती नै गर्नेहरुले त कानुन अनुसार सजाय भोगेपछि सामाजिक रुपमा पुनस्थापित हुने हक कायम राख्छ, जुन संविधानमै लेखिएको छ ।
दोषी नहुन्जेल कुनै मान्छे आरोपी मात्रै हुन्छ । तर सामाजिक सञ्जालमा कुराहरु यसरी आइदिन्छ, कि दोषी र निर्दोषको इजलास सञ्जालमै बस्दिन्छ । सूचनाहरुको आदानप्रदानका लागि बनाइएको सामाजिक सञ्जाल अहिले अरुमाथि गालीबेइज्जती गर्नदेखि प्रहार गर्ने साधन जस्तै बनेको छ । एउटा अवस्थाबाट गुज्रिएर पुनः नयाँ संसार बनाउन हिँडेका एलिना र समीक्षाहरुका लागि अहिले समाजको हौसलाको खाँचो छ । आफूमाथि सुन्न नसकिने गाली गर्नेहरुलाई सामाजिक रुपमै प्रतिकार गर्ने आँट गर्ने उनीहरु प्रशंसाका पात्रहरु हुन् । ताकी आगामी दिनमा आफूमाथि पीडा पर्दा पीडामाथि पीडा थप्ने पिपाषुहरुले एलीना र समीक्षाहरु सम्झिएर थप शब्दहरु लेख्न नसकुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया