जम्मू–कश्मीर आक्रमण : मोदीले साउदी भ्रमण छोट्याए, भारतलाई ट्रम्पको ऐक्यबद्धता

लोकपथ
4.2k
Shares

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी कम्तीमा २७ जनाको ज्यान जाने गरी मंगलबार जम्मु–कश्मीरमा आतंकवादी हमला भएपछि साउदी अरेबिया (यूएई) भ्रमण छोट्याएर स्वदेश फर्केका छन् । मंगलबार नै साउदी अरबको दुई दिने भ्रमणका लागि प्रस्थान गरेका उनी राति नै फर्केका हुन् ।  

उनले जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आक्रमणलाई ‘आतंकवादी आक्रमण’का रूपमा उल्लेख गर्दै भनेका छन्, ‘आक्रमणमा संलग्नहरू कसैलाई पनि छाडिने छैन ।’

प्रधानमन्त्री मोदीले दिल्ली पुग्नेबित्तिकै आपत्कालीन बैठकसमेत राखेका थिए । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस विषयमा छलफल गरेका थिए । 

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

यस घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्यांकन गर्न श्रीनगर पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतंकवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन् । सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए । 

पत्रकार सम्मेलनमा लेभिटले भने, ‘पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ । प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथाशीघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन् ।’

राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ । अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ । हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपालीसमेत कम्तीमा २७ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

यो आक्रमण मंगलबार बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यावसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा २७ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन् ।

यस आतंकवादी हमलाको जिम्मेवारी लस्कर–ए–तैयबा नामक पाकिस्तानस्थित आतंकवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?