काठमाडौं । जिएसीको आयोन कार दुर्घटनाका क्रममा एयर ब्याग नखुलेको घटनालाई सम्बोधन गर्दै जिएसी कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको छ । सर्लाहीको ईश्वरपुरमा भएको एक दुर्घटनामा एयर ब्याग नखुलेको घटनाप्रति लक्षित गर्दै जिएसीले त्यसको सम्भावित कारणसहित धारणा सार्वजनिक गरेको हो ।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै जिएसीले के कस्तो अवस्थामा एयर ब्याग खुल्ने हो र कस्तो दुर्घटनामा मात्रै खुल्नुपर्ने हो भन्ने स्पष्ट पारेको छ । गोन्जाओ अटोमोबाइल ग्रुप कम्पनी लिमिटेड (जिएसी ग्रुप) ले सर्लाहीमा भएको दुर्घटनामा किन एयर ब्याग नखुलेको हो भन्ने विषयमा केही नबोले पनि सोही घटनाको परिप्रेक्ष्यमा प्रेस नोट सार्वजनिक गर्दै सामान्य दुर्घटनामा एयर ब्याग नखुल्ने जनाएको हो ।
जारी प्रेस नोटका अनुसार जिएसी ग्रुपले निर्माण गरेको कार सुरक्षित रहेको र टोयोटा र होन्डाले समेत चीनमा उत्पादन गर्ने विद्युतीय कारका लागि जिएसी नै छनोट गरेको उल्लेख गरेको छ । टोयोटाको एसयुभी र बिजेडथ्रीएक्स अर्थात् आयोन भी कार पनि जिएसीले नै निर्माण गरिरहेको भन्दै सुरक्षा व्यवस्था मजबुत रहेको कम्पनीको दाबी छ ।
कार उत्पादक जिएसीबाट जारी प्रेस नोटमा एयर ब्यागहरू मध्यमदेखि गम्भीर स्तरका अगाडिबाट हुने ठक्करमा मात्र सक्रिय हुने जनाएको छ । यसमा कारको गति, ठक्करको कोण, बाधाको प्रकार तथा दुर्घटनाको प्रभावकारिता हेरेर एयर ब्याग खुल्ने वा नखुल्ने निर्धारण हुने बताएको हो । केही विशेष अवस्थाहरूमा दुर्घटना हुँदा पनि एयर ब्याग नखुल्न सक्ने कम्पनीले जनाएको छ ।
कस्तो अवस्थामा खुल्दैन जिएसीको एयर ब्याग ?
एयर ब्याग खुल्नका लागि सेन्सरले काम गर्नुपर्ने र सेन्सरले काम गर्नका लागि दुर्घटनाका आधार र कारणमा भर पर्ने कुरा उल्लेख गरिएको छ । कम्पनीका अनुसार विद्युतको पोल वा रूखमा ठक्कर खाँदा, पछाडिबाट सामान्य ठक्कर दिँदा, गाडी पल्टिने घटनाहरू वा सानो स्तरका ठक्करहरूमा एयर ब्याग नखुल्न पनि सक्ने कम्पनीले जनाएको छ । सामान्य दुर्घटना वा ठक्करमा पनि एयर ब्याग खुल्ने भएमा यसले ग्राहकलाई अनावश्यक जोखिम बढाउने र आर्थिक क्षति मात्रै पुराउने भएकाले त्यस्ता दुर्घटनामा एयर ब्याग नखुल्ने कम्पनीले जनाएको हो ।
हेर्नुहोस्, जिएसीले एयर ब्याग खुल्ने वा नखुल्ने सम्बन्धमा वेबसाइटमा राखेको म्यानुअल

जिएसी ग्रुपले सवारीसाधनको म्यानुअल अध्ययन गर्न र एयर ब्यागका सम्बन्धमा थप जानकारी लिन समेत भनेको छ । एयर ब्यागले कसरी र कस्तो अवस्थामा काम गर्छ भन्ने विषयमा थप जान्न आवश्यक रहेमा नजिकको अधिकृत सेवा केन्द्र वा शोरूममा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
केही दिनअघि सर्लाहीको ईश्वरपुर नगरपालिकाको पूर्व पश्चिम राजमार्गमा जिएसी कम्पनीले उत्पादन गरेको आयोन वाई कार दुर्घटना भएको थियो । उक्त कार दुर्घटना हुँदा अगाडिको भागमा ठक्कर लागेको नभई तीव्र गतिको कारण खाल्डोमा परी पल्टिएको थियो । उक्त दुर्घटनामा कारको एयर ब्याग नखुलेको भन्दै यात्रु तथा चालकले गुनासो गरेका थिए ।
प्रारम्भिक जानकारी अनुसार तीव्र गतिमा रहेको कार सडक मै रहेको खाल्डोमा परेर पल्टिएको थियो । अगाडि वा पछाडिको भागमा ठक्कर पनि नलागेको र गाडीको तलको भागबाट मात्रै क्षति भएकाले एयर ब्याग नखुलेको हुन सक्ने प्रारम्भिक जानकारी कम्पनीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया