परिणाम नआउँदै दलहरु सत्ता समीकरणको अभ्यासमा

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना परिणाम अन्तिमतिर पुगेको छ । हालसम्म १ सय ५७ स्थानको परिणाम आएको छ । राजनीतिक दलहरु भने सम्पूर्ण मत परिणाम नआउँदै सत्ता समीकरणको अभ्यासमा जुटेका छन् ।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रमा मतगणना भएको छ भने ३ निर्वाचन क्षेत्रमा विवादका कारण मतगणना बाँकी रहेको छ । हालसम्म प्रत्यक्षमा नेपाली कांग्रेस अगाडी रहेको छ । भने समानुपातिकमा नेकपा एमालेको अग्रता छ ।

अघिल्ला अघिल्ला निर्वाचनमाभन्दा यस निर्वाचनमा केही नयाँ राजनीतिक दलको उत्साहजनक प्रवेशले संसद र सरकारमा जानेहरुको अनुहार फेरिने संकेत देखिएको छ । पुस्तान्तरण र राजनीतिक रुपान्तरणमा बहस गरिरहेका आम मानिसका लागि निर्वाचनको परिणामले थप बल पुगेको छ ।

परिणामले कुनै राजनीतिक दलको पनि स्पष्ट बहुमत नपुग्ने देखिएपछि धेरै सिट ल्याउने मुख्य राजनीतिक दलहरु बहुमत पुर्याउन अन्य साना दलहरुलाई फकाउने खेलमा लागेका छन् । निर्वाचनको परिणामपछि मुख्य राजनीतिक दलका नेताहरु दुई भागमा विभाजित भएका छन् ।

गठबन्धन गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेस निर्वाचन अघिकै गठबन्धन जोगाएर सरकार बनाउने पक्षमा छ । नेकपा एमाले भने माओवादीसहित अन्य राजनीतिक दललाई साथमा लिएर सरकार बनाउने खेलमा जुटेको छ । समानुपातिकमा पहिलो र प्रत्यक्षमा दोस्रो बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावअघिको कांग्रेससहितको गठबन्धन भत्काएर माओवादीसहित अन्य राजनीतिक दललाई साथमा लिएर सरकार बनाउने गृहकार्यमा जुटेका छन् ।

तत्कालिन नेकपा विभाजनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध ‘रिन्यू’ गर्दै उनी सत्ताको कुर्सी आफूतिर सोझ्याउने ध्याउन्नमा छन् । गठबन्धन गरेर गएपनि सोचेजस्तो मत नपाएको भन्दै रुष्ठिएका माओवादी केन्द्रका केही नेता एमालेसँगको गठबन्धनमा जाने भन्दै घुर्की लगाइरहेका छन् ।

यता सोचेभन्दा न्यून सिट आएपछि पुराना मधेशवादी दलहरुले भने सरकारमा जाने विषयमा मुख खोलेका छैनन् । आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमा कसलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने भन्ने केही राजनीतिक दलमा विवाद देखिएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्रले निर्वाचन अघि नै चुनावपछि आफ्नो नेतृत्वमा सरकार बन्ने भएमा पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने बताइसकेका छन् । नेपाली कांग्रेसमा भने अबको प्रधानमन्त्री को ? भन्ने सहमति भएको छैन ।

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै

गठबन्धनबाटै सत्ताको बहुमत पुग्ने आशासहित निर्वाचनमा होमिएको कांग्रेसले सत्ता सञ्चालनको मौका पाए पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा ठूलो लडाईं हुने देखिन्छ ।

कांग्रेसबाट अबको प्रधानमन्त्री को भन्ने विषय सजिलै टुंग्गने देखिन्न । अर्थात् यो विषय मतदानबाट मात्रै छिनोफानो हुने देखिन्छ । पुस्तान्तरणको बहस मात्रै नभएर शासन सत्ता नयाँ शिराबाट अघि बढाउने ध्याउन्न र हुटहुटीसहित केही युवा ड्राइभिङ सिटमा बस्न चाहन्छन् ।

तीन पटक प्रत्यक्ष निर्वाचित र एकपटक समानुपातिबाट सांसद भइसकेका कांग्रेस महामन्त्री गगनकुमार थापा यसपाली पनि सांसदमा निर्वाचित भएका छन् । यसअघिका निर्वाचनमा सांसद बन्नका लागि भोट मागेका गगनले यस पटक प्रधानमन्त्रीको दाबी गर्दै मत मागेका छन् ।

चुनाव अघिबाटै कांग्रेसको संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने घोषणा गरेका गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथले थप उत्साह थपेको छ । कांग्रेस र अन्य दलबाट निर्वाचित सांसदलाई बधाई दिँदै अन्य नेताहरुसँग पनि उनी छलफलमा छन् । अघिल्लो पुस्ताका नेताहरुलाई सम्मानजनक बिदाई गर्दै अब नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने अडान उनको छ ।

उनी मात्रै होइन पार्टीभित्रको ठूलो पंक्तिले आफू प्रधानमन्त्रीको दाबेदार रहेको घोषणा गरिरहेका छन् । जसमा हालका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र प्रकाशमान सिंह, डा शेखर कोइराला मौका पर्दा प्रधानमन्त्रीको कुसीमो पुग्न चाहन्छन् । सबै नेता सभापति देउवाको मुख सुँघ्दै छन् ।

ठूला दलको निर्णय हेरेर अघि बढ्ने दाउमा साना दल

आश्चर्यजनक नतिजा आएसँगै सरकारमा जाने वा नजाने भन्ने विषयको छलफलमा जुटेको छ राष्ट्रिय स्वतन्त्र पार्टी । अरु साना दल भने के गर्ने भन्ने अन्यौलमा छन् । सरकार सञ्चालनका लागि भाग पुर्याउने साँचोको रुपमा रहेका रास्वपासहितका दलहरु सरकारमा जाने वा नजाने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छन् ।

देशमा युवाहरु अघि बढ्नुपर्छ भनेर नयाँ राजनीतिक धार स्थापना गर्ने मूल एजेण्डा बनाएको रास्वपा ठूला राजनीतिक दलबाट को प्रधानमन्त्री बन्छ भन्ने निर्कोलपछि मात्रै सरकारमा जाने वा नजाने भन्ने निर्णय लिने रणनीतिमा देखिन्छ । अन्य दलमा पुस्तान्तरणको बहस हुँदैगर्दा युवा पुस्ताबाट नेतृत्वका लागि आएमा सहर्ष स्वीकार्दै सरकारमा जाने रास्वपाको तयारी छ ।

अन्यथा सरकार बाहिर बसेर कामको निगरानी र खबरदारी गर्ने तयारीमा रहेको रास्वपाका नेताहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । अन्य साना दलहरु पनि ठूला दलको निर्णय हेरेर आफूहरु अघि बढ्ने पक्षमा देखिएका छन् ।

एमाले–कांग्रेस सरकार बन्ने सम्भावना कति ?

जारी निर्वाचन परिणामले दुईखाले धारणाहरु सार्वजनिक हुन थालेका छन् । राजनीतिमा नयाँ पुस्ताको आगमगन बढेसँगै अब देशले काँचुली फेर्ने आशा गर्ने जमात एकातिर छ, अर्कोतिर भने देश झनै अस्थिरता तिर पो जाने होकि भन्ने आशंका गर्ने बौद्धिक वर्ग पनि छ ।

त्यसको मझधारबाट धारणा बनाउनेहरुले भने ठूला राजनीतिक दलहरुको मिलनबाट सरकार बनेमा देशले केही राजनीतिक स्थिरता पाउने आशा गर्छन् । माओवादीसहित गठबन्धनबाटै सरकार सञ्चालन गर्ने कांग्रेसको दाउ र गठबन्धन टुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने एमालेको दाउ सफल नभएमा दुई ठूला दलबीच सरकार सञ्चालनमा सहमति नबन्ला भन्न पनि सकिन्न । किनकी, राजनीति सम्भावनाहरुको खेल न हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?