चुनावअघि चर्चामा छाएका यी उम्मेदवार : कस्ले कति पाए मत ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना करिब करिब सम्पन्न हुन लागेको छ । अहिलेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कलाकारदेखि राजनीतिक दलका शीर्ष नेताहरु पनि चुनावी मैदानमा आएका थिए । एक समय विभिन्न क्षेत्रमा रहेर निकै चर्चा बटुलेका उम्मेदवारहरु निर्वाचनमा भने निकै पछि परेर पराजय भोग्नु परेको छ । अझ कतिपयलाई त दोस्रो स्थानमा आउन पनि हम्मेहम्मे भएको छ ।

सागर ढकाल

एउटा मात्र निर्वाचन क्षेत्र भएको डडेलधुराबाट ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग नै प्रतिष्पर्धामा उत्रिएपछि निर्वाचनलाई चासोको साथ हेरिएको थियो । उनको चर्चा अनुसारको मत परिणाम त आयो तर जित भने हुन सकेन । ढकालले १३ हजार ४४ भोट पाउँदा देउवाले २५ हजार ५ सय ३४ मत ल्याएका थिए । ढकाल नेपाली कांंग्रेस बीपीबाट उम्मेदवारी दिएका कर्णबहादुर मल्ललाई पछि पार्दै दोस्रो स्थानमा रहन सफल भए ।

रञ्जु दर्शना

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शना सेलरोटी चुनाव चिह्नका साथ मैदानमा थिइन् । अघिल्लो पटक काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर पराजित भए पनि भारी मत ल्याएकी उनी अहिले नवौं स्थानमा रहनुप¥यो । उनले ६ सय मतमात्रै ल्याएकी हुन् ।

मिलन पाण्डे

काठमाडौं–९ मा साझा पार्टी नेपालबाट उम्मेदवारी दिएका मिलन पाण्डे विवेशील पार्टीका संस्थापक नेताहरु मध्येका एक हुन् । एकीकरणपछिकोे विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रबाट कारबाही भोगेका उनले त्यसपछि साझा पार्टीमा आवद्ध भई निर्वाचन लडेका थिए । उनी २ हजार ३२७ मतसहित पाँऔं स्थानमा रहे ।

पुकार बम

विवेकशील साझा पार्टी छाडेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ मा प्रतिस्पर्धामा थिए । कांग्रेसका प्रकाशमान सिंह पहिलो र राप्रपाका रवीन्द्र मिश्र दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका बम तेस्रो स्थानमा रहे । बमले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउन परेको थियो । त्यसो त उनले एमाले उम्मेदवार किरण पौडेल र नेपाल सुशासन पार्टी खोलेर प्रतिस्पर्धा गरेका रमेश खरेलको तुलनामा बढी मत पाएका थिए ।

डा. प्रणयशम्शेर राणा

काठमाडौंं ५ बाट नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका राणा तेस्रो स्थानमा खुम्चिन बाध्य भए । कांग्रेसका प्रदीप पौडेल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उनको स्थान रह्यो । उनले ५ हजार ४७३ मत ल्याएका थिए । जुन प्रदीप पौडेलको तुलनामा एक तिहाइमात्रै हो ।

हिमेश पन्त

कमेडियन पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका थिए । उनले धादिङ क्षेत्र न १ बाट उम्मेदवारी दिएका हुन् । उनले पनि १२ हजार ५६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । उनका प्रतिस्पर्धी नेकपा एसका राजेन्द्रप्रसाद पाण्डे भने ३५ हजार ९ सय ३४ मत ल्याएर विजयी भए ।

हेमराज थापा

काठमाडौंं ५ बाट स्वतन्त्र उम्मेदवार दिएका थापाले २ हजार ४ सय ४० मत प्राप्त गरे । कोरोनाको समयपछि सामाजिक सञ्जालमा अभियन्ताको रुपमा चर्चित थिए । उनी काठमाडौ ५ मा छैठौं स्थानमा रहेका छन् ।

रेखा थापा

लामो समयसम्म नेपाली चलचित्रमा काम गरेकी थापा यस पटकको निर्वाचनमा राप्रपाबाट मोरङ निर्वाचन क्षेत्र ३ बाट निर्वाचनमा होमिएकी थिईन् । उनको सामाजिक सञ्जालतिर राम्रै चर्चा थियो । तर त्यो चर्चा विजयमा भने परिणत हन सकेन । उनी १० हजार ९९८ मत ल्याएर तेस्रो स्थानमा खुम्चिन बाध्य भइन् । त्यहाँबाट नेपाली कांंग्रेसका सुनिलकुमार शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?