काठमाडौं । द्वितीयाको राती दर खाएसँगै सुरु हुने हरितालिका तीज ऋषि पञ्चमीको दिन पूजाआराधना गरेपछि बल्ल सम्पन्न हुन्छ ।
चार दिनसम्म चल्ने तीजको हरेक दिनको बेग्ला बेग्लै महत्व र विशेषता रहेको छ । तीजको पहिलो दिन द्वितीयामा दर खाइन्छ, तृतीयामा आफ्नो शारीरिक क्षमता र निष्ठा अनुसार सक्नेले निर्जला र निराहार व्रत बस्न बस्छन् भने नसक्नेले फलफूल खाएर पनि हरितालिकाको व्रत बस्छन् । चतुर्थीका दिन विशेष गरी गणेश भगवानको पूजा–आराधान गरिन्छ भने अन्तिम तथा पञ्चमीका दिन स्नान गरेर शुद्ध भई अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीजको चरदिने पर्वलाई समापन गरिन्छ ।
हरितालिका तीजको दिन विवाहित महिला माइती घरमा गएर आमा–बुबाको काखबाट टाढा भएको न्यास्रो मेट्ने, आमा–बुबासँग घरका केही गुनासा भए पोखेर मन हलुङ्गो पार्ने गर्छन् । एउटा भावुकता र माइतीसँगको सम्बन्धलाई लिएर पारिवारिक वैमनस्य सम्बन्धलाई सौहार्द भावको सम्बन्ध राख्ने पर्वको रुपमा तीजलाई लिइन्छ ।
हरितालिका तीजको महत्व
संस्कृत भाषमा ‘हरित’को अर्थ हरण र ‘आलिका’को अर्थ साथी हुन्छ । पार्वतीलाई उनका साथीहरूले हरण गरेर एकान्तमा लगेर शिव भगवानको आराधना गरेर पतिको रुपमा शिवजीलाई पाएको पौराणीक कथा रहेकोे छ । शिवजीलाई पतिको रुपमा पाउन पार्वतीले गरेको उक्त व्रतकै कारण यसदिनलाई हरितालिका भनिएको हो भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।
यही धार्मिक विश्वासलाई आधार मान्दै अन्य नारीहरूले पनि आफ्नो मनोरथ पूर्ण गर्नका लागि विशेष गरेर यो दिन निराहार व्रत बस्ने गरेका छन् ।
शास्त्रीय परम्परा अनुसार यो दिन भगवान शिवको पूजा आराधना गर्ने, व्रत बस्ने, शिव पार्वतीको भजन गाएर, नाचेर दिन बिताउने नै हो ।
हरितालिकाको पौराणीक कथन
तृतीया तिथिमा हरितालिकाको दिन व्रत बसिन्छ । हरितालिका तिथिमा मुख्यरुपमा शिवलाई प्राप्त गर्नका लागि पार्वतीले व्रत बसेको भन्ने मूल धार्मिक कथन हो । हिमालय पुत्री पार्वतीलाई शिवजीसँग विवाह गर्न उनको पिताजीको सहमति थिएन ।
पार्वतीका पिताजीले उनको विवाह भगवान् विष्णुसँग होस् भन्ने चाहन्थे । पार्वतीलाई विष्णुसँग हुने विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर एकान्तमा लगेर राख्छन् । एकान्तबासमा नदी किनारमा गएर अलग्गै व्रत बसेर शिवजी प्राप्त गरेको धार्मिक कथन रहेको छ ।
पञ्चमी स्नानको महत्व
तीजको अन्तिम दिन ऋषिपञ्चमी पनि यो पर्वको अर्को महत्वपूर्ण दिन मानिन्छ । यस दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरिन्छ । महिलाहरुले बिहानै खोला, ताल–तलाउ तथा पानीको स्रोतमा गएर ३६५ वटा दतिवन, माटो, गाईको गोबर आदि प्रयोग गरी स्नान गर्छन् ।
रजस्वला हुने नारीले मात्र यो स्नान गर्छन् । यसदिन गरिएको स्नानले रजस्वला हुँदा भएका गल्तीहरु माफ हुने विश्वास गरिन्छ ।
यस दिन महिलाहरु चुलोचौकाको कामबाट अलग भएर निस्फिक्रि भई भजनकिर्तन गर्ने तथा नाचगानमा रमाउँछन् भने पुरुषहरुले भान्छाको काम गर्छन् ।
तीज संस्कृतिमा विकृति
हुने खानेले तीज आउनु महिना दिन अघिदेखि नै दर खाने परम्पराले पछिल्लो समय देखासिकी बढेको छ । दरखाने नाममा तडकभडक देखिन थालेको छ । चाडबाडले परम्परालाई निरन्तरता दिने भन्दा पनि आधुनिकता भित्र्याउँदा तीज महँगो बन्दै गएको छ ।
शुद्ध र शाकाहरी भोजन गरि हरितालिकाको अघिल्लो दिन खाइने दर महिनौं अघिदेखि पार्टि प्यालेससम्म पुगेको छ । त्यो पनि मदिर र तामसि खाना सहित । दरको नाममा बढेको विकृतिलाई रोक्न सरकारले चालेको केहि कदम प्रभावकारी देखिए पनि संस्कृतीको नाममा मनमौजीले गर्दा संस्कृती नै धरापमा पर्दै गएको छ ।
केहि वर्ष अघिसम्म तीजमा भजन गाउँदै नाच्ने महिलाहरु अहिले र्याप र पप गीतको सुरमा मदिराको नशामा झुम्न थालेका छन् । स्वतन्त्रताको नाममा संस्कृति र परम्परालाई परिवर्तन गर्न खोज्दा आफ्नै अस्तित्व धरापमा परेको विषयलाई सबैले मनन गर्न भने जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया