भाषा र सञ्चारको क्षेत्रमा सरकारले चासो दिएन : अध्यक्ष अवस्थी

लोकपथ
7
Shares

काठमाडौं । भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गरेका छन् ।

बुधबार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरिक्रयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

सञ्चारमाध्यमहरुलाई आवश्यक मानक दिन नसक्दा कतिपय स्थानमा भने त्रुटी भइरहेको उनले उल्लेख गरे । उनले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षकहरु अंग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताए । अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यक भन्दा बढी स्थान दिइराखिएको बताए । उनले सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाए । भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझैपनि राज्य बेखबर रहेको भन्दै राज्यको उदासिनताका कारण भाषामा विकृति आइरहेको बताए । भाषा एउटाको विकल्पमा अर्को आउने कुरा नहुने उल्लेख गर्दै नेपाली भाषालाई एउटै र शुद्ध बनाएर अघि दैजान आवश्यक रहेको बताए । उनले आयातित भाषाका कारण नेपाली भाषा ओझेलमा परिरहेको बताए । अध्यक्ष अवस्थीले भाषाको निरन्तरता र भाषाको जीवन समयोजन भएपछि मात्रै नेपाली भाषा सही रुपमा अघि बढ्नसक्ने उनले उल्लेख गरे ।

डा. अवस्थीले भने, ‘ हामी सञ्चार जगतले भाषा बिगारेको छ भन्छौँ , सञ्चारजगत भनेको विद्यालय, विश्वविद्यालय, समाजको मानक हो, तर हामीले सञ्चारजगतको लागि चाहिने मानक दिन सकेका छैनौँ । अहिले भइरहेको प्रयासले पुगेको छैन । सञ्चारमाध्ययमा पनि यसको विचार हुन आवश्यक छ । भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझैपनि राज्य बेखबर छ । सरकारले भाषालाई सम्मान गर्न सकेको छैन । नेपाली भाषा लगायतका नेपाल उत्पत्तिका भाषाहरु छन् । ती ओझेलमा पर्दैजाने आयातित भाषा, खास गरेर अंग्रेजीले स्थान लिनेकुरा हाम्रो लागि अफ्ठ्यारो देखिन्छ । अंग्रेजी भनेको संविधानले नचिनेको भाषा हो । तर प्रयोग र विश्वव्यापी सम्पर्कको हिसावले आफ्नो ठाउँ ग्रहण गर्‍यो त्यसमा कुनै आपत्ति भएन । तर त्यसलाई दिएको स्थान कहिले काहीँ हामीले अलिबढी गरिरहेका छौँ कि, आफ्नो भाषालाई कम आँकलन गर्ने, आयातित भाषालाई बढी स्थान दिएको हो कि भन्ने अनुभुति भएको छ । तर किन यस्तो भयो भन्नेकुराको केही उत्तर भने खोज्नुपर्छ । किन हामी अंग्रेजीको मोहमा पर्‍यौं  । हाम्रो नेपालका टेलिभिजनका रेडियोका धेरैजसो शीर्षक अंग्रेजीमा हुन्छन् । मैले उत्तर पाएको छैन त्यसको ।

भाषा भनेको एउटाको विकल्पमा अर्को लिनेकुरा होइन । भाषा भनेको राष्ट्र, राष्ट्रियता र संस्कृतिको रक्षाकवच हो । रक्षाकवच यदी कमजोर हुन्छ भने त्यहाँभित्र अरुकुरा पस्नु स्वभाविक हो । रक्षा गर्नेकुरा नै यो राज्यले पाएन भने अनपेक्षित कुरा हुनसक्छन् । भाषाको मूल नै क्षय भयो भने शाखा पनि हुँदैन र पत्र पनि हुँदैन । भाषामा राज्यप्रणाली उदासीन हुनु भनेको दुःख लाग्दो कुरा हो ।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनैपनि भ्रम पाल्न जरुरी नरहेको उनले उल्लेख गरे । उनले आजभन्दा ४० वर्षअघि नै संस्कृबाट आएका शब्द बाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको बताए। सदस्यसचिव उपाध्यायले नेपालीमा ८० प्रतिशत भन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएकोले त्यसलाई तत्सम शब्दका रुपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले अब आगन्तुक शब्दका सन्दर्भमा कुनैपनि भ्रम पाल्न जरुरी छ भन्ने मलाई लाग्दैन । नेपालीमा ८० प्रतिशत भन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएका छन्, त्यसलाई हामीले तत्सम शब्दका रुपमा स्वीकारीसकेका छौँ । स्वीकार गरेको ४० वर्षभन्दा बढी भइसक्यो । तत्सम शब्दलाई तत्सम संस्कृतकै अनुसार लेखौँ । दशको श पातलो लेख्ने छुट हामीलाई छैन ।’

सदस्यसचिव उपाध्यायले हरेक रेडियो, टेलिभिजन, पत्रपत्रिका, शिक्षा आयोग, प्रेस काउन्सिल, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभूवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रहरुले एउटै भाषा प्रयोग गर्ने गरेर शैली पुस्तक बनाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?