कांग्रेसको प्रवृति : नेताका परिवार स्वतः नेता, मारमा वास्तविक कार्यकर्ता

कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना र छोरा नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भए । काठमाडौँ क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाअनुसार प्रकाशमान स्वतः महाधिवेशन प्रतिनिधि हुने भएका हुन् । प्रकाशमानसँगै छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि बनेसँगै उनको घरमा ३ जना महाधिवेशन प्रतिनिधि भएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पौडेल पोखरेल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर संज्ञा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

कांग्रेस महाधिवेशनका क्रममा उक्त क्षेत्रबाट ४ जना खुला महिलाका लागि ११ जना उम्मेदवार थिए । संज्ञाले दोस्रो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेकी हुन् । उनले ३९५ मत ल्याएकी थिइन् ।

त्यसैगरी कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । मोरङको क्षेत्र नम्बर ६ मा उनी निर्विरोध महाधिवेशन प्रतिनिधि छानिए ।

नुवाकोट क्षेत्र नं १ डा. रामशरण महतको पत्नी रोशना महत र डा. प्रकाशशरण महतकी पत्नी विना महत केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिए ।

कांग्रेसमा नातावाद स्थापनाकादेखि नै लागू भएको हो । व्यवस्था परिवर्तन भए पनि समाज लोकतान्त्रिकीकरण हुन नसकेको कांग्रेस नेता गुरुराज घिमिरे बताउँछन् । पार्टीका पद हुन् वा राज्यका पद त्यसमा व्यक्तिको क्षमता योगदानअनुसार सबैलाई अवसर दिनुपर्नेमा त्यासो हुन नसकेको उनको भनाइ छ ।

सहअस्तित्व र अवसरको मान वितरण लोकतन्त्रको मूल मर्म भए पनि त्यसअनुसारको काम हुन नसकेको उनको भनाइ छ ।

‘मेरा परिवारको पनि भाइ र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि निर्विरोध बनाउने प्रस्तावलाई मैले अस्वीकार गरेँ, किनकि मैले परिवार भनेर बस्दा अरु दुई जनाले अवसर पाउँदैनन् । घरमै प्रस्ताव आएको थियो’, उनले लोकपथसँग भने ।

पार्टीमा पनि परिवर्तन आउन नसकेको उनको भनाइ छ ।

‘परिवर्तन विधिमा आए पनि प्रवृत्तिमा आएको छैन । पूरै प्रभुत्ववादी र सामन्ती मानसिकता छ । आफूपछि आफ्ना सन्तान भन्ने मानसिकता छ । वडा तहदेखि केन्द्रसम्म यो मनासिकता छ । वीपी कोइरालादेखि यो समस्या सुरु भएको हो । जीवनको अन्तिमकालमा गिरिजाबाबुलाई आफ्नो परिवारको कोही होस् भनेर महामन्त्री दिनुभयो’, उनले भने ।

यस्तो प्रवृत्तिले इमानदार भएर पार्टीमा काम गर्ने मान्छे निरुत्साहित हुने घिमिरेको भनाइ छ ।

राजेन्द्र चापागाई, राजनीतिक विश्लेषक

नतावाद भनेको नेपालको संस्थागत कुरा हो । राजतन्त्र गयो भन्ने परेको छैन । शीर्षस्थ नेताहरूका परिवारजति स्वतः टीका लगाउने चलन यत्र तत्र सर्वत्र छ । कांग्रेसमा त यो पुुरानो चलन हो । राजनीतिक त्याग र तपस्या गर्न नपर्ने देश र जनताको लागि आवाज उठाउजु नपर्ने, परिवारको एक जना नेता भयो भने श्रीमती, छोरा, छोरी, बुहारीहरू सहजै नेता बन्ने यो प्रवृत्तिले राजनीतिको स्तर नै घटेर गयो ।

राजनीतिले सिद्धान्त र आदर्श छोडेर लिकबाहिर जानुका कारण यिनै हुन् । नातावाद र फरियावाद भए भयो । अर्को ब्रिफकेसवाद छ । यो अझ चर्को रूपमा हाबी हुँदै छ ।

एउटा बलियो नेता समातिएन भने पार्टीमा जतिसुकै योगदान दिनुस् त्यसले महत्व नै पाउँदैन । पार्टीको लागि जिउँदो सहिद बन्नुस्, पार्टीको लागि जिन्दगी समर्पण गर्नुस् पाटीकै लागि सन्यासी बनेर हिँड्नुस तर शीर्ष नेताको पुच्छर समाउनु भएन भने न टिकट पाउनुहुन्छ, न त कुनै अवसर नै पाउनुहुन्छ । सबै पार्टीमा यो नियम लागू हुन्छ । यसलाई आश्चर्यको रूपमा लिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?