दशैँमा पुजिने प्रमुख शक्तिपीठहरू (भिडियोसहित)

हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड दशैँमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गर्ने गरिन्छ । मनोइच्छा पूरा हुने आस्थाका साथ दशैँ अवधिभरि नै विभिन्न देवीदेवताको पूजा हुन्छ । दशैँमा यस्ता शक्तिपीठमा गई पूजा तथा आरधना गर्नाले शक्ति तथा सम्बृद्धि प्राप्त हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठहरुमा दशैँ अवधिभर नै भक्तजनहरुको भीड लाग्ने गर्दछ । दशैँमा सबैभन्दा चर्चित मन्दिर हो, काठमाडौंको हनुमानढोका अवस्थित तलेजु भवानीको मन्दिर । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

यस्तै काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्येको एक हो, नक्साल भगवती । यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।

यस्तै काठमाडौँंको पश्चिममा विष्णुमति नदीको किनारमा रहेको पवित्र शक्तिपिठ हो, शोभा भगवती । प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ ।

नवदुर्गा र दश महाविद्या पीठमध्येकी एक देवी हुन्, भद्रकाली । यो मन्दिर काठमाडौंको सिंहदरबारदेखि ५ सय मिटर पश्चिममा रहेको छ। भद्रकालीको स्थापना परापूर्वकालका राजा गुणकामदेवले कलिको संवत ३८२५ मा गराएको मानिन्छ ।

मन्दिरमा प्रत्येक मंगलबार र शनिबार दर्शनार्थीहरुको अरु दिनको तुलनामा भीड लाग्ने गर्दछ। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ ।

दशैँमा भक्तजनहरुको भीड लाग्ने अर्को मन्दिर हो, संकटा । यो मन्दिर टेबहाल अर्थात् नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडिको गल्लीमा पर्दछ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामाई अवस्थित रहेको छ । दशैँमा मात्रै नभएर यस मन्दिरमा हरेक शनिबार भक्तजनहरूको उत्तिकै भीड लाग्ने गर्छ ।

काठमाडौं उपत्यकाको अर्को मुख्य मन्दिर हो, महांकाल । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरमा हरेक शनिवार र चाडपर्वमा उत्तिकै भीड लाग्छ । तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधिबाट पूजा गर्न थालिएको मानिन्छ ।

काठमाडौं उपत्यकाका मुख्य मन्दिरहरुमध्ये मैतीदेवी मन्दिर पनि एक हो । डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित यो मन्दिरको स्थापना अंशुवर्माको शासनकालमा भएको मानिन्छ। मैतीदेवी मन्दिरमा वज्राचार्य समुदायले पूजा गर्दै आएका छन् । मन्दिरमा बडा दशैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ ।

काठमाडौं उपत्यकाका यी शक्तिपीठहरुका साथै उपत्यकाबाहिरका शक्तिपीठहरुमा पनि भक्तजनहरुको उत्तिकै भीड लाग्ने गर्छ । काठमाडौँबाट दक्षिण भेगमा अवस्थित दक्षिणकाली मन्दिर भाकल राखेर बलि चढाउने भक्तजनहरुको संख्या उल्लेख्य छ । यो कालीदेवीको मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिकामा अवस्थित पलाञ्चोक भगवतीको मन्दिर पनि हिन्दू धर्मावलम्वीहरुको ठूलो आस्थाको केन्द्र हो । यो मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । यस मन्दिरमा दशैँमा विशेष मेला लाग्ने गरेको छ ।

यस्तै गोरखाको मनकामना मन्दिर एक महत्वपूणर् देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । यहाँ दशैँको समयमा विशेष मेला र पूजाआजा हुने गरेको छ ।

यस्तै गरी काभ्रेको बनेपामा रहेको चण्डेश्वरी मन्दिर, दोलखाको कालिन्चोक मन्दिर, डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर, सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा रहेको दन्तकाली मन्दिर, पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा देवीको मन्दिरमा पनि दशैँमा भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको विस्तृत भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?