कोरोनाको दोस्रो लहरकाबीच गर्मी बढ्यो, यसरी बच्नुहोस् खतरनाक रोगबाट

लोकपथ
0
Shares

काठमाडौं। सामान्यतया जाडो मौसमको तुलनामा गर्मीयाममा बढीजसो मानिसहरु बिरामी हुने गर्दछन् । केहि दिनदेखि देशभर गर्मी बढेको छ। करिब एक वर्ष लामो कोरोना कहरपछि केहि तंग्रीएको अवस्थामा फेरि आक्रामक रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरको चपेटाकाबीच धुलो धुँवा र बढ्दो प्रदूषणसँगै बढेको गर्मीको कारण विभिन्न संक्रामक रोगहरुको खतरा पनि बढेको छ । पछिल्लो समय कोरोनाको कारण दिनहुँ करिब १५० भन्दा माथिको संख्यामा संक्रमित थपिइरहेका छन् । कोरोनाको जोखिमसँगै गर्मी बढेका कारण झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेन्गु, हेपाटाइटिस, आँखा पाक्ने, श्वासप्रशवासलगायतका बिरामी बढ्ने गर्छन् । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडोको मौसममा भन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले धेरैलाई सताउने गर्छ । यो समयमा खाना, पानी, बसाई तथा कपडा प्रयोग गर्दा समेत सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।

गर्मीमा सबैभन्दा बढी संक्रमण पानीबाट हुने भएकोले पानीको सरसफाईमा र प्रयोगमा पनि ध्यान दिनुपर्छ । गर्मी मौसममा बढी हावा चल्ने भएकोले हावाले उडाएर ल्याउने धुलोका कारण छाला, आँखा, फोक्सोमा पनि समस्या देखा पर्ने गर्दछ।

कसरी बच्ने ?
बासी, सडेगलेका, झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट टाढै रहनुपर्छ ।
सागसब्जी तथा सलाद पनि सफा पानीले राम्ररी पखालेर मात्र खाने गर्नु पर्छ ।

घर कार्यालय वरिपरी पानी जम्ने खाल्डाखुल्डी, फोहोर भएमा तत्काल हटाउनुपर्छ । विशेष ध्यान पुर्‍याउनु पर्छ।

पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ। बरु गर्मीका कारण तातो पानी पिउन समस्या भए मनतातो पानी प्रयोग गर्नुपर्छ ।

सेतो रङको हलुका लुगा लगाउने, खुकुलो र छरितो लुगा लगाउने, अनुहार सुहाउँदो र आँखालाई बचाउने सनग्लास, घामबाट छालाको सुरक्षा गर्ने क्रिम आदिको प्रयोग आवश्यक छ। घाममा छाता ओढेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैँसँग बोकेर हिँड्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, जतापायो उत्रै गएर खानपान नगर्ने जस्ता धेरै उपाय अपनाएर पनि गर्मीमा लाग्ने रोगबाट बच्न सकिन्छ।

यसबाहेक नियमित शारिरीक अभ्यास, पोषिलो सन्लुलित भोजन खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?