ऊर्जामा विद्यावारिधि गर्ने डा.शाही कर्णालीकै पहिलो

RSS
0
Shares

काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेशकुमार शाही ऊर्जा विषयमा विद्यावारिधि गर्ने व्यक्ति बन्नु भएको छ । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले उर्जा विषयमा विद्यावारिधि गर्नुभएको हो ।

ऊर्जाको खानी मानिने कर्णालीबाट ऊर्जामा विद्यावारिधि गर्ने शाही पहिलो बन्नुभएको छ । टोक्यो सिटी विश्वविद्यालयले शुक्रवार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तरसमेत गर्नुभएका शाहीले विकासोन्मुख देशहरुले ऊर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गर्नुभएको छ ।

रास्कोट नगरपालिका–५ कालीकोटको एक सामान्य परिवारमा जन्मिनुभएका शाहीको यो अध्ययनले नेपालको ऊर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ ।

विद्यावारिधि प्राप्तिपश्चात उहाँले भन्नुभयो, “कर्णालीजस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हासिल गरेका अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धानकर्तासँगको प्रतिस्पर्धाबाट शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । यद्यपि मलाई सधैँ केही नयाँ गरौँ र सिकौँ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ ।

विद्यावारिधिका क्रममा शाहीका अनुसन्धानमूलक दुईवटा सामग्री विश्वकै नम्बर एक जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै उहाँले विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसक्नुभएको छ । उहाँले टोक्यो विश्वविद्यालयबाट बेस्ट प्रिजेन्टेशन अवार्ड र हाइ इम्प्याक्ट जर्नलमा प्रकाशन गर्न सफल भएकामा अवार्ड प्राप्त गर्नुभएको छ ।

नेपालजस्ता विकासशील देशहरुले विकसित देशहरुले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उहाँको निष्कर्ष छ । त्यसका लागि उहाँले तर्कसङ्गत अवधारणा पनि अघि सार्नुभएको छ । विश्वमा सबैभन्दा बढी ऊर्जा घरायसी प्रयोजनमा खपत गरेको पाइन्छ ।

भविष्यमा नेपालमा पनि घरायसी प्रयोजनमा ऊर्जाको खपत बढ्नसक्ने अनुमान गर्दै उहाँले यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अवधारणा अघि बढाइएको बताउनुभयो ।

नेपालका धेरै जाडो हुने र अत्यधिक गर्मी हुने ठाउँमा घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने विधि पनि उहाँले अध्ययनमा देखाउनुभएको छ, जसलाई उहाँको अनुसन्धानको महत्वपूर्ण पक्ष ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?