सुर्खेत । कर्णालीको राजधानी रहेको वीरेन्द्रनगर उपत्यकामा बढ्दो खानेपानीको संकट टार्न नयाँ आयोजना अगाडि बढाइएको छ। भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी ‘भेरी पम्पिङ’ आयोजना अगाडि बढाइएको हो। कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आयोजनाको काम अगाडि बढेको छ।
प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगरमा ल्याउन लागिएको हो। बहुवर्षीय आयोजनाअन्तर्गत यो आयोजनामा झन्डै सात अर्ब खर्च हुने अनुमान गरिएको छ। यो आयोजना सम्पन्न भएमा वीरेन्द्रनगरमा आउँदो ३० वर्षपछिको जनसंख्यालाई पनि खानेपानी पुग्ने विश्वास गरिएको छ। आयोजना सञ्चालनका लागि प्रदेश सरकाको चालू आर्थिक वर्षमा एक अर्ब बजेट छुट्ट्याएको छ।
हाल खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत प्राविधिक टोली बनाएर आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउने काम भइरहेको हो। भेरी पम्पिङ आयोजना अध्ययन टोलीका सदस्य प्रशान्त मल्लले अबको ३० वर्षपछि वीरेन्द्रनगर उपत्यकाको जनसंख्या ३ लाख ८४ हजार पुग्ने अनुमान गरिएको बताए। सोहीअनुसार नै खानेपानी आपूर्ति गर्नेगरी यो आयोजना अगाडि बढाइएको हो। हाल वीरेन्द्रनगरको जनसंख्या दुई लाखभन्दा बढी छ। वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत खानेपानी उपभोक्ता संस्थाका अनुसार हालको जनसंख्याका लागि प्रतिसेकेन्ड २ सय ७८ लिटर पानी आवश्यक पर्छ। तर, आपूर्ति भने १ सय ५२ लिटर प्रतिसेकेन्ड मात्र छ।
वीरेन्द्रनगरमा खडेरीको समयमा पानीको मागभन्दा आपूर्ति ५० प्रतिशतले कम हुन्छ। आयोजनाका अनुसार अबको तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याइनेछ। अन्नपूर्ण पोष्टमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया