काठमाडौं । लकडाउन अवधिमा सञ्चारकर्मीहरुलाई पारिश्रमिक उपलब्ध गराउन असमर्थता जनाएपछि यसै साता देशको दुई प्रतिष्ठित दैनिक पत्रिकाको समाचार बाहिर आएको छ । अन्नपूर्ण दैनिक पत्रिकाका प्रधानसम्पादकले राजीनामा नै दिनु भएको छ दिनुभएको छ भने कान्तिपुर मिडिया ग्रुप (केएमजी) का पत्रकार तथा कर्मचारीले नियमित तलब नदिएको र बेतलवी बिदामा बस्न दबाब दिएको उजुरी गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तहतको न्यूनतम पारिश्रमिक निर्धारण समितिले सो विषयमा जानकारी उपलब्ध गराउन पत्राचार गरेको छ । यी दुई प्रतिनिधिमूलक घटनाको विषयले कोरोना (कोभिड-१९) को असर मिडिया क्षेत्रमा कसरी पर्दैछ भन्ने उदाहरण दिएको छ ।
प्रधानसम्पादकसहित लामो समयदेखि सो दैनिक पत्रिकामा कार्यरत पत्रकारहरुले एकैपटक पारिश्रमिककै विषयलाई लिएर राजीनामा दिएको घटना विस्तारै अन्य मिडिया संस्थाहरुमा दोहोरिने अवस्था देखिन्छ । लडकडाउन शुरु भएको केही दिनमै मुलुकको अर्को प्रतिष्ठित दैनिक पत्रिका कान्तिपुरले पनि वर्षौंदेखि कार्यरत झण्डै ५० जना पत्रकारलाई बेतलबी बिदामा बसिदिन गरेको आग्रह वा केही दिन पत्रिका नै बन्द गरेको घटनाको कारण पनि कोभिडले निम्त्याएको संकट नै थियो । लकडाउनपछि कति मिडिया बन्द भए भन्ने यकिन तथ्यांक नभएपनि ठूला मिडिया संस्थाकै सहप्रकाशनहरु बन्द भएका छन्, अधिकांश साप्ताहिक पत्रिकाहरु पूर्णरुपमै बन्द छन् भने थुप्रै एफएम रेडियोहरु बन्द भैसकेका छन्, कतिपय मृत्युको दोसाँधमा छन् । सबैजसो पत्रपत्रिकाले साइज वा पृष्ठ संख्या घटाएका छन् भने रेडियो, टेलिभिजनहरुले प्रशारण समय कम गर्ने वा एउटै कार्यक्रम दोहोर्याउने गरेको पाइन्छ ।
यो अवस्था हाम्रोजस्ता मुलुकहरुमा मात्र होइन, कोभिड विस्तारले अर्थतन्त्रमा पारेको प्रभावसँगै विश्वभरका सञ्चारमाध्यममाथि आर्थिक दबाब बढेको छ । विज्ञापनका आधारमा चल्ने विश्वभरका निजी मिडियाको आम्दानी गत अप्रिल महिनामा मात्र ७० प्रतिशतभन्दा धेरैले खस्किएको तथ्यांकहरूले देखाएका छन् । यसैका कारण विश्वका प्रसिद्ध मिडिया संस्थाहरु नै अहिले धराशायी बन्न थालेका छन् । विज्ञापन बजारले एकातिर निजी स्तरका मिडिया संस्थाहरुलाई ठूलो संकट ल्याएको छ भने अर्कोतिर नयाँ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले परम्परागत तथा मूलधारका सञ्चारमाध्यमहरुको आकर्षण कम गराएको छ ।
सामान्य अवस्थादेखि प्राकृतिक विपद, महामारी, सशस्त्र युद्धजस्ता विषम अवस्थामा मिडीया जहिलेपनि अग्रपंतिमा रहेर जनतालाई सूसुचित गराउन क्रियाशील रहेको हुन्छ । आफ्ना व्यक्तिगत वा पारिवारिक कठिनाइलाई पनि बिर्सेर आफ्ना पाठकका लागि हरदम लागिरहने पत्रकार र ती कार्यरत सञ्चार संस्थाको भूमिकालाई समाज र राष्ट्रले राम्ररी बुझ्न सकेको देखिँदैन । सधैँ अर्काको पीरमर्कालाई उजागर गराउने सञ्चारकर्मी आफ्नै पीडा भने खोल्न सक्दैनन् । सार्वजनिक वा अन्य संस्थामा हुने भ्रष्टाचार वा अन्य गलत क्रियाकलापलाई बाहिर ल्याउने उनीहरु आफ्नै संस्थामा भएका अन्यायका बारेमा चुँसम्म पनि बोल्न सक्दैनन् । मुटुमाथि ढुंगा राखी हाँस्नु नै उनीहरुको नियति हो मानौं । खासगरी कोरोनाको संक्रमणपछि विश्वभरका सञ्चारकर्मी र सञ्चार संस्थाहरुले यो पीडा अझ उत्कर्षमा पुग्दैछ ।
कोरोनाको कारण एकातिर मिडियाको उपयोग बढेको देखिन्छ तर अर्कोतिर अधिकांश मिडियाहरु बन्द भएका वा बन्द हुने क्रममा रहेका वा आफ्नो समय र स्थानलाई खुम्चाउँदै गरेका संञ्चार संस्थाहरुको अवस्था निकै जटिल बनेको छ भने तिनमा कार्यरत अधिकांश सञ्चारकर्मीले जागिर गुमाउनु परेको, पारिश्रमिकमा कमी आएको वा समयमा भुक्तानी पाउन नसकेको अवस्था छ । आगामी दिनमा धेरै मिडिया बन्द हुने वा सानो स्केलमा सञ्चालन हुनेछन् । मिडियाको उपयोगकर्ता बढेको छ भने साइज र समय घटेको छ । आगामी दिनमा यो अवस्था अझ जटिल बनेर जाने निश्चित छ । कोभिड-१९ को जोखिम मोल्दै समाचार संकलन गर्नुपरेको अवस्थामा थप प्रोत्साहन र सुविधा पाउनुपर्नेमा उल्टै जागिर गुमाउनुपर्ने, पारिश्रमिक नपाउने स्थिति सिर्जना हुनु अत्यन्त दुःखद पक्ष हो । सरकारले प्रहरी, चिकित्सकलाई अतिरिक्त सुविधा दिइपनि पत्रकारले बिना सुरक्षा सावधानी उत्तिकै फिल्डमा खटिनु परेको छ ।
विवशमा सञ्चार संस्था
प्रजातन्त्र पुनस्र्थापनापछि सञ्चार क्षेत्रमा जसरी निजी क्षेत्रको आकर्षण बढेर गयो, यसले सरकारी एकाघिकारबाट सूचनामा विविधता ल्यायो र जनताको चेतनास्तरमा अभिवृद्धि भयो । मिडियाको पहुँच विस्तार भयो र यसले विस्तारै सेवामूलक उद्योगको आकार ग्रहण गर्दा रोजगारीको पनि आकर्षणको क्षेत्र बन्यो । उद्योग व्यवसाय पनि फस्टाउँदा गर्दा विज्ञापनको बजार विस्तारसँगै अर्थतन्त्र गतिशील बन्दै गएको अवस्थामा कोभिड-१९ ले ठूलो धक्का दिएको छ । ८० दिनको लकडाउनले समग्र जनजीवनलाई भौतिकरुपमा मात्रै खुम्चाएन, मानसिक रुपमै शिथिल तुल्यायो ।
सञ्चार संस्थाको आम्दानीको मुख्य स्रोत भनेकै विज्ञापन हो । चीन हुँदै युरोप, अमेरिकामा कोभिडको विस्तारसँगै साँघुरिन शुरु गरेको विज्ञापनको बजार चैत ११ मा लकडाउन शुरु भएपछि त झनै घट्न गयो । अन्य क्षेत्र बलियो भएपछि मात्रै सञ्चार क्षेत्र बलियो हुन्छ । लकडाउनले उद्योगी, व्यवसायीहरुले आफ्ना उत्पादन वा सेवाको बजारीकरण गर्न सकेनन् । बजारीकरण नहुँदा विज्ञापनमा जाने कुरै भएन । जसको प्रत्यक्ष असर मिडियाको आयस्रोतमा पर्न गयो । त्यसमा पनि मिडियामा बढी खर्चिलो हुने टेलिभिजनहरुमा कम विज्ञापन गएको अवस्था छ । जोखिमपूर्ण अवस्थामा काम लगाइएका सञ्चारकर्मीहरुलाई थप सेवा सुविधा दिन चाहेर पनि दिन सक्ने अवस्था छैन । कर्मचारी पत्रकारलाई कसरी होल्ड गरेर राख्ने भन्ने चुनौती छ ।
सरकारी सञ्चार माध्यमहरुलाई राज्यले सहयोग गर्छ, आफैँले कमाएर सञ्चालन हुनुपर्ने निजी सञ्चार माध्यम भने यतिबेला थला पर्ने अवस्थामा छ । विज्ञापन बजारको संकुचनको असर सरकारी मिडियामा पनि पर्ने नै छ भने ती मिडियालाई सरकारले सधैँभरि अनुदान दिइरहन्छ भन्ने पनि छैन । अब सरकारी मिडियाहरुले पनि राज्यको मुख नताकी खर्चमा किफायती, चुस्त व्यवस्थापन र संस्थालाई जागिर खाने थलोको रुपमा नहेरी आत्मनिर्भर बन्न सक्नु पर्दछ । कोरोनाको लडाइँमा निजी सञ्चार माध्यम र तिनमा कार्यरत पत्रकारहरुले पनि उत्तिकै भूमिका खेलेको भएपनि अस्ट्रेलियालगायत विश्वका अन्य कतिपय देशहरुले जस्तो नेपालमा राज्यले सहयोग गरेको छैन । यद्यपि, बजेटमा रेडियो टिभीको नवीकरणमा शुल्क नलाग्ने र रोयल्टीवापतको दुई प्रतिशतलाई एक प्रतिशतको छुट दिइएको छ । तर प्रिन्ट मिडियाको पक्षमा कुनै निर्णय भएको छैन ।
द्वीविधामा सञ्चारकर्मी
सञ्चार संस्थाको आर्थिक अवस्था कमजोर हुनुको सिधा अर्थ त्यसमा कार्यरत सञ्चारकर्मीको सेवा सुविधामा कटौतीदेखि राजीनामासम्मको वाध्यता हो । जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्दा अतिरिक्त सेवा सुविधा पाउनु त परै जाओस्, खाइपाइ आएको पारिश्रमिक नै नपाउने चिन्ताले सताएको छ । मिडियामा कार्यरत सञ्चारकर्मीहरु सञ्चार संस्थाले दिने पारिश्रमिकले मात्रै टिक्न गाह्रो थियो । अधिकांश उनीहरुले कलेज, विद्यालयहरुमा शिक्षण गर्ने, विभिन्न विधागत संस्थाहरु गठन गरी त्यसमार्फत काम गर्ने र केही अन्य व्यवसाय गरी त्यसको आम्दानीले गुजारा चलाउँदै आएका थिए । त्यसमा पनि कोभिडले यो अवस्थालाई झन् तहसनहस बनाइदियो । लामो समयसम्म शिक्षण संस्थाहरु बन्द छन्, विधागत संस्थाहरुले पनि अब काम पाउने सम्भावना छैन भने अन्य व्यवसायहरु पनि धराशायी बन्दै गएकाले अब मिडियाकर्मीहरुका लागि हातमुख जार्ने समस्यासँग जुध्न त्यति सजिलो छैन । अहिलेको संकटबाट हाल विभिन्न सञ्चार संस्थाहरुमा कार्यरत सञ्चारकर्मीमध्ये आधाभन्दा बढी प्रत्यक्ष प्रभावित हुने देखिन्छ ।
अध्यारो भविष्य
कोभिड १९ को असरका कारण विश्वका विकसित मुलुकका मिडियाहरु समेत टिक्न धौ धौ भएको अवस्थामा हाम्रो देशका मिडियाले कसरी बाँच्न सक्छन् भन्ने अहम् प्रश्न छ । एकातिर विज्ञापनको बजार साँगुरिँदै जानु, अर्कोतिर दक्ष जनशक्ति यस क्षेत्रबाट पलाउन हुनु र राज्यले संरक्षणकारी भूमिका देखाउन नसकेको अवस्थामा मिडियाको भविष्य अन्धकार देखिन्छ । कोभिड पछाडिको प्रभाव सबै क्षेत्रमा एकैखालको हुँदैन । साना मिडियाको तुलनामा ठूला मिडिया संस्थाहरुलाई झन बढी समस्या पर्नेछ, यिनमा ठूलो लगानी भएको छ । यिनको टिकाउ हुन गाह्रो छ ।
नेपालको विज्ञापन बजार भनेको रु १० अर्बको हाराहारी मात्रै हो । प्रिन्ट मिडियाले करिब ४७ प्रतिशत विज्ञापनको हिस्सा ओगटेको अवस्थामा आज कतिपय बन्द रहेका, कतिपयले पृष्ठ संख्या घटाएका छन् । हिजो खुलापनले गर्दा देशको आवश्यकता, विज्ञापनको बजार र जनताको मिडिया खपत गर्ने क्षमताभन्दा धेरै(एकखालको बाढी) सञ्चार गृहहरु स्थापना भए । विश्वका अन्य देशको औसतभन्दा धेरै मिडिया सञ्चालन भएको नेपालमा अब भने त्यसको असर देखिँदैछ अर्थात् धेरैको अस्तित्व मेटिनेवाला छ । मिडियामा लागेर जीविकोपार्जन हुन सक्ने अवस्था नदेखेपछि स्वतः सञ्चारकर्मीहरु पलायन हुनेछन् । नेपालमा दक्ष पत्रकार भनेको हजार÷१२ सय मात्रै हो । तीमध्ये पनि जो सँग बहु क्षमता छ, उ मात्रै अब मिडियामा टिक्न सक्छ ।
नेपालमा विक्री प्रवद्र्धन (बजारीकरण) का लागि नै विज्ञापन गर्ने गरिन्छ, जबकी अन्य देशमा ब्राण्ड स्थापित गर्न बढी विज्ञापन गरिन्छ । विक्रीको निश्चित प्रतिशत विज्ञापनमा खर्च गर्नेहरुले विक्री घटेपछि विज्ञापन गर्ने कुरै भएन । यहाँ उत्पादनभन्दा आयात गरेर ल्याएको सामानको बजार बिक्री बढाउन गरिने विज्ञापनको अवस्था कोभिडले खल्बलिने पक्का छ । कोभिड कति समय लम्बिन्छ थाहा छैन ।
कोभिड १९ पछि आम मानिसमा अब मासमिडिया-आमसञ्चारका माध्यम जस्तैः पत्रपत्रिका, रेडियो, टेलिभिजन) नै किन चाहियो र भन्ने भावना आउनसक्ने देखिन्छ । एकातिर सोसियल मिडियाबाट तुरुन्तातुरन्तै सूचना वा मनोरञ्जन पाउन सकिन्छ भने अर्कोतिर अधिकांश मानिसलाई हातमुख जोर्ने नै मुख्य चिन्ताको विषयले सताएको बेला मिडियाले यसको समस्या समाधान गर्ने होइन भने किन पैसा खर्चेर उपयोग गर्छ ।
अबको बाटो
कोभिडका कारण सबै क्षेत्रमा नकारात्मक असर देखिएको छ । सरकारले रुग्ण उद्योग, पर्यटनलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन रु ५० अर्बको कोषको स्थापना गरेको छ । यसमा मिडियालाई पनि समावेश गरिनुपर्छ । मिडिया पनि ज्ञान उत्पादन गर्ने उद्योग नै हो । यसको कार्यविधि बनाउँदा यसमा विचार पु¥याउनुपर्छ । नयाँ विज्ञापन ऐनले व्यवस्था गरेको विज्ञापन बोर्डको गठन हुँदैछ र त्यसबाट सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण हुनेछ । सरकारी विज्ञापन सञ्चार मन्त्रालयमार्फत वितरण हुने व्यवस्था मिलाइँदैछ । त्यसैगरी क्लिनफिडले पनि केही हदसम्म राहत पुग्ने भएपनि दिगो सञ्चालनका लागि पर्याप्त हुँदैन ।
अर्को कुरा देशमा रहेका यतिधेरै मिडियाहरु सञ्चालन हुन नसक्ने हुँदा अब अस्तित्वका लागि पनि एकअर्कामा मर्ज हुनुको विकल्प देखिँदैन । जसरी एकल रुपमा सञ्चालन हुन कठिन भएका बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर आज सञ्चालनमा छन्, त्यसैगरी मिडियाका संस्थाहरुबीच पनि मर्ज हुन सकेमा सहजता आउन सक्ने देखिन्छ । यसले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र पत्रकारिताको मूल्य मान्यता स्थापित गर्न सहयोग पुग्दछ । कोरोनाले ल्याएको अर्को अवसर भनेको सबै मिडियालाई परम्परागत प्लेटफर्मबाट डिजिटल प्लेटफर्ममा लगेको छ । अबको पत्रकारिता भर्चुअलमा गएको छ । यस वास्तविकतालाई आत्मसात गर्दै चुनौतीसँगै अवसर पनि हुनेहुँदा अहिले मिडिया क्षेत्रमा आएको चुनौतीको समाधानका लागि सरकार, सञ्चार उद्यमी, सञ्चारकर्मी र आम जनताले साझा दृष्टिकोण बनाउन आवश्यक छ । कुनै पनि मिडियाको असामयिक मृत्यु हुनु भनेको सञ्चार उद्यमी र सञ्चारकर्मीको रोजीरोटी गुमेको मात्र नभएर सरकार वा आम जनताका लागि पनि निकै पीडादायी क्षण हुनेछ ।
- कृष्ण अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया