काठमाडौं । सरकारले कोरोना भाइरससँग सम्बन्धित सूचना, जानकारीलाई एकीकृत प्लेटफर्मबाट सार्वजनिक गर्नका लागि बनाएको मोबाइल एप तथा वेब पोर्टल तयार भएको छ ।
कोरोना भाइरस ट्रेसिङ समेत गर्न सकिने गरि विकास गरिएको एप सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रालिले तयार गरेको हो । यस अघि नेपाल सरकारको आधिकारिक वेब पोर्टल आईमार्कले बनाउने जिम्मेवारी पाए लगत्तै आईमार्कले तत्कालका लागि डाँफे हेल्थ डटकम सार्वजनिक गर्दै लर्निङ पार्टलको रुपमा अघि सारेको थियो ।
डाँफे हेल्थ सार्वजनिक गरेर पूर्ण रुपमा सरकारको एप निर्माण गरे पछि डाँफे हेल्थलाई समेत उक्त एपमा समायोजन गरी एकीकृत सूचना प्रणाली तथा ट्रेसिङ एपको विकास गरिएको र केही दिनमा नै सरकारले कोभिड एनपी नामक मोबाइल एप तथा कोभिड १९ डट गभ डट एनपी नामक वेब पोर्टल सार्वजनिक गरिने आईमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताएका छन् ।
लकडाउनको समयमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न कोभिड एनपी एप तथा वेब पोर्टल तयार पारिएको हो । गत चैत अन्तिम साता राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका सम्भावित संक्रमितको पहिचान गर्न ट्रेसिङ एप सञ्चालनमा ल्याउने उद्घोष गरेका थिए । सोही अनुरुप आफुहरुले पाएको जिम्मेवारी अनुसार छोटो समयमा वेब पार्टल तथा मोबाइल एप तयार पारिएको आईमार्क प्रालिले जनाएको छ । आईमार्कका अनुसार गुगल प्लेमा एप अपलोड भैसकेको र केही दिनमा नै सर्वसाधारणले समेत पाउने छन् भने तथा एप्पलको एप स्टोरमा केही दिनमा एप उपलब्ध हुनेछ ।
गुगल एपमा कोभिड एनपी एप डाउनलोड गर्न यो लिंकमा जानु पर्ने हुन्छ ।
प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीका अनुसार आईमार्क प्रालिले तयार गरेको मोबाइल एप तथा वेब पार्टल केही दिनमा प्रधानमन्त्रीले औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया