विश्वका भयावह महामारी र द्वन्द्व

काठमाडौं । महामारी वा महारोगका नाम त कर्णप्रिय नै लाग्छ, कोरोना, इबोला, रुबेला, हैजा, मेनिन्जाईटिस्, निमोनिया, क्यान्सर । तर चरित्रले गर्दा मानिसहरू नाम सुनेरै तर्सिने गर्दछन् ।

यो पृथ्वी आजको अवस्थामा आईपुग्दा यसले असाधारण घटना, प्राकृतिक प्रकोप, महारोग तथा महामारी भोगिसकेको छ । विज्ञहरूको रायमा विश्वले आजसम्म ठूला वा मध्यम खालका गरी साँढे चौध हजार युद्ध भोगेको छ ।

दूरगामी प्रभाव पार्ने हजारौँ प्राकृतिक प्रकोपका घटना हुँदै आएका छन् । नेपालमा वर्षेनी नौ सय ठूला वा मझौला प्राकृतिक प्रकोपका घटना हुने गर्दछन् भनि सन् २००९ मा राष्ट्रसंघीय विकास कार्यक्रम (युएन्डीपी) ले सन् २००९ मा काठमाडौँमा आयोजना गरेको बहुपक्षीय अन्तर्राष्ट्रिय सम्मेलनमा प्रश्तुत प्रतिवेदनमा उल्लेख थियो ।

पहिलेको समयमा हैजा, विफर, ब्युबोनिक प्लेग, भाईरल फ्लू जस्ता महामारीबाट दशौँलाख मानिसको मृत्यु भएको ईतिहास छ । विफरले आफ्नो १२ हजार वर्षको इतिहासमा विश्वको ३० देखि ५० करोडसम्म संख्याका जनताको ज्यान लिएको थियो । नेपालमा यसको २०३३ सालदेखि उन्मूलन नै भयो ।

प्राचीन जमानामा महामारी फैलिन थालेपछि थोरै जनसंख्या होइन लाखौँको संख्यामा क्षति गरेर मात्र साम्य हुन्थ्यो । २००५ सालमा नेपालको हैजा २०१० साल वा त्यो भन्दा अघिका विफरको महामारी नेपालका सम्झिन लायक पछिल्लो महामारी हुन् ।

पछिल्लो कालखण्डमा आएर हाल कोरोना भाईरस विश्वव्यापी महामारी भईरहेको छ, तथापि आधुनिक चिकित्सा विज्ञानको विकास र चमत्कारले गर्दा यसको नियन्त्रण र उपचारका उपायले गर्दा मृत्युदर नियन्त्रणमै छ ।

यसअघि विशेषतः अफ्रिकामा फैलिएको ईबोला (त्यहाँको एउटा नदीको नामबाट यसको नामकरण भएको) भाईरस महामारी पनि चिकित्सा विज्ञानको विकासकै कारण पश्चिमी अफ्रिकामा नै सीमित गर्न सफलता मिलेको थियो । यहाँ विभिन्न स्रोतबाट लिईएका केही ऐतिहासिक रुपमै भयावह मानिएका महामारीको सम्पादन गरिएको छ ।

एच्आईभी-एड्स् 

सन् १९७६ मा अफ्रिकी मुलुक, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बाँदरबाट उत्पत्ति भएको वैज्ञानिक विश्वास भएको, मानव शरीरको रोग प्रतिरोधात्मक क्षमतामा द्रुत ह्रास आउने रोग एच्आईभी-एड्सले हालसम्म करिव ४ करोड मानिसको ज्यान लिईसकेको छ ।

४४ वर्षको दौरानमा यसको पराकाष्टा सन् २००५ देखि २०१२ सम्म रह्यो । आज पनि विश्वका करिब साँढे तीन करोड मानिसहरू यो रोग सल्किएको कारणले पीडित भएर बाँचिरहेका छन् । तर आजकाल यस विरुद्धका राम्रा औषधि आउन थालेकोले २००५-२०१२ को वार्षिक मृत्युदर २२ लाखबाट घटेर १६ लाखमा आएको छ ।

‘हङ्कङ् फ्लू’ १९६८

यो भाईरल फ्लू (रुघाखोकी) हङ्कङ्बाट उठेर ३ महिनाभित्रमा सिंगापुर, भियतनाम, फिलिपिन्स, भारत, अस्टे«ेलिया, युरोप र अमेरिकासम्म पुगेको यस महामारीबाट १० लाख मानिसको ज्यान गएको थियो । यो एकदमै छिटो (१७ दिनमै) महामारीको रुप लिएको फ्लू थियो ।

एशियन फ्लू १९५६-५८

चीनबाटै उठेर दुईवर्षसम्म चलेको यो फ्लूबाट सिंगापुर, हङ्कङ् हुँदै अमेरिकासम्म पुगेको र यसबाट २० लाख मानिसले ज्यान गुमाएका थिए, जसमध्ये करिब ७० हजार अमेरिकी नागरिकहरू नै परेका थिए ।

फ्लू १९१८-२०

पहिलो विश्वयुद्ध सकिँदा नसकिँदै दुई वर्षसम्म विश्वभरि नै यस्तो रुघामर्कीको महामारी चल्यो कि त्यसबाट ५० करोड मानिस ग्रसित भए भने दुईदेखि ५ करोडसम्म मानिसको ज्यान गएको थियो ।

पहिलो २५ हप्ताको अवधिमा मात्र २ करोड ५० लाख मानिसको ज्यान गएको थियो । अन्य रुघामर्कीले बच्चाबच्ची र बुढाबुढीलाई शिकार बनाउने गर्दथ्यो भने यसले त्यस्ता उमेर समूह र कमजोर स्वास्थ्य भएकाहरूलाई बरु सुरक्षित छोडेर युवा उमेर समुहका मानिसलाई प्रभावित बनाएको थियो ।

हैजा १९१०-११

पश्चिम एशिया, उत्तरी अफ्रिका, पूर्वी युरोप, रसियातिर फैलिएको यो महामारीले ८ लाखभन्दा ज्यादा मानिसको ज्यान लिएको थियो ।

फ्लू १८८९–९०

एशियाली फ्लू वा रसियन फ्लू नामले चिनिएको यस रुघाखोकी महामारीले १० लाख मानिसको ज्यान गएको थियो ।

हैजा १८५२-६०

भारतबाट उठेर फैलिएको यो हैजा ८ वर्षसम्म महामारीको रुपमा फैलियो, जसबाट १० लाख मानिसको ज्यान गएको थियो ।

यो महामारी सबै महादेशमा फैलिएको थियो । १९५४ मा एक ब्रिटिश डाक्टरले दुर्गन्धित पानीबाट हैजा फैलिएको पत्ता लगाएका थिए । तर सोही वर्ष नै बेलायतमा २३ हजार मानिसको ज्यान गएको थियो ।

प्लेग महामारी ‘कालो अवसान’ १३४६-५६

एशियाबाट उठेर जहाजका मुसाद्वारा युरोप, एशिया र अफ्रिकामा फैलिएको ब्युबोनिक प्लेग (‘द ब्लाक डेथ’) को कारण साडेसात करोड देखि २० करोडसम्म मानिसको ज्यान गएको थियो ।

जस्टिनियनको प्लेग ५४१-५४२

भूमध्य सागरका समुद्री शहरहरू र बाईजेन्टाईन साम्राज्यमा फैलिएको यो प्लेगबाट युरोपको आधा जनसंख्या सकिएको थियो ।

यसबाट ४० प्रतिशत करिब २ करोड ५० लाख मानिस मरेका थिए । यस महामारीबाट दैनिक ५ हजार हाराहारीको संख्यामा मानिसको ज्यान जाने गर्दथ्यो ।

एन्टोनाईन प्लेग, सन् १६५

यो प्लेग एशिया माईनर (टर्की), ईजिप्ट, ग्रीस, ईटलीमा फैलिएको यो प्लेगसँग दादुरा र विफर पनि फैलिएको वैज्ञानिक अनुमान छ ।

यो महामारीकै कारण रोमन सेना मेसोपोटामिया (ईराक, कुवेत, पूर्वी सिरिया र दक्षिणपूर्वी टर्कीको भूभाग) बाट रोम फर्किनु परेको थियो ।

अन्जानमा तिनीहरूले प्लेग वा यस्तै रोग फैलाएर हिँडेको अनुमानको आरोप पनि स्थापित छ । यस महामारीबाट ५० लाख मानिस मरेका थिए ।

बिसौँ शताब्दीमा द्वन्द्व

मानवताविरोधी अपराधीका जघन्य हर्कतका कारण विश्वमा धेरैवटा घटना पनि हुँदै आएका छन् । यहाँ बिसौँ शताब्दीमा केही कुख्यात महामारीका द्वन्द्वलाई हेरौँ ।

रवाण्डाको द्वन्द्व १९९४

अप्रिल ६ देखि एक सय दिन चलेको द्वन्द्वमा परी अफ्रिकी मुलुक रवाण्डामा ८ लाख जनसंख्याको संहार भएको थियो ।

रवाण्डाको अल्पसंख्यक तुत्सी जातीलाई त्यहीँकै बहुसंख्यक हुतु जातीले हरेक दिनजसो १० हजारका दरले अल्पसंख्यकलाई मृत्युको मुखमा उतारेको थियो ।

बोस्नियाको द्वन्द्व १९९२-९५

पूर्व युगोस्लाभियाको एउटा राज्य बोस्निया–हर्जगोभिना द्वन्द्वमा त्यहाँका तीन मूख्य जाती सर्ब, क्रोट्स र मुसलमानमध्येको द्वन्द्वमा २ लाख मानिसहरुको मृत्यु भएको थियो ।

सर्बहरू मूख्यतः अर्थोडक्स् क्रिश्चियन थिए भने क्रोट्स्हरू क्याथोलिक क्रिश्चियन र मुस्लिमहरू अल्बानियाई खालका थिए ।

युगोस्लाभ नेता टिटोको १९८० मा निधन भएपछि कम्युनिस्ट नेताको रुपमा उदाएर पछि राष्ट्रवादी नेताका रुपमा चिनिन चाहने स्लोभोदान मिलोसोभिचले मुसलमानहरूलाई नियोजित षड्यन्त्र र जालसाजीका साथ मारेका थिए, २० हजार वेपत्ता बनाइए, २० लाख शरणार्थी भए ।

यो असाधारण मानवता विरोधी अपराधलाई लिएर अमेरिकी उपविदेशमन्त्री रिचार्ड हल्बु्रकका शब्दमा “१९३० पछि पश्चिमाहरूको सबैभन्दा ठूलो असफलता” थियो ।

कम्बोडियाको द्वन्द्व १९७५-७९

कम्बोडियाका कम्युनिस्ट तानाशाह ख्मेर रुज पार्टीका नेता पोल पोटले किसान समाज बनाउने भनी लादेको जबरजस्तीको शासनका कारण कम्बोडियाको २० लाख (२५ प्रतिशत) जनता फाँसी, काममा अत्यधिक जोतेर र कुपोषणमा पारेर मारिएको थियो ।

पोल पोटले ‘पुरानो समाजका सदस्य’ भनिएका शिक्षित, शहरिया, धनी, वौद्ध भिक्षु, चिकित्सक, प्रहरी, वकिल, शिक्षक र पूर्व शासनका सैनिक अधिकारीहरू मानेका थिए । ति सबै मारिए । मारिएकाहरूका पत्नी र छोराछोरीलाई पनि मारियो ।

नानकिङ् द्वन्द्व १९३७-३८

डिसेम्बर १९३७ मा दोस्रो विश्वयुद्ध चलिरहेको बेला जापानी सेना तत्कालीन चीनको राजधानी नानकिङ्मा मार्च ग¥यो र शहरका ६ लाख सैनिक र सर्वसाधारणमध्ये ३ लाखको हत्या गर्यो ।

यसलाई चिनिया इतिहासमा ‘नानकिङ्को बलात्कार’ भनिन्छ । यो तत्कालीन युरोप, एशिया वा सारा संसारकै लागि भयानक नरसंहार थियो ।

उक्रेनको द्वन्द्व १९३२-३३

यस अनिकालबाट उक्रेनमा ७० लाख मानिसको ज्यान गयो । तत्कालीन सोभियत नेता स्तालिनले उक्रेनी जनताले स्वतन्त्रताको माग चर्काउने सम्भावना बुझेपछि त्यहाँ अनिकाल लाग्ने अवस्था बनाए भनी दोष लगाईन्छ ।

युरोपको रोटीको डाली मानिने उक्रेनका जनतालाई आफूले उत्पादन गरेको अनाजबाट बञ्चित गरिदिएका थिए । १९२९ देखि नै ५ हजार उक्रेनी विद्वान, वैज्ञानिक, सांस्कृतिक तथा धार्मिक नेताहरूलाई सशस्त्र विद्रोह गर्ने झुटो आरोप लगाएर पक्रिईयो । कतिपयलाई मारियो भने कतिलाई कठोर श्रममा पठाईयो ।

निहुँ चाहिँ उक्रेनमा पनि सोभियत भूमि व्यवस्थाजस्तै ‘सामुहिकीकरण’ मा सामेल हुन जोड दिए तर उक्रेनी किसानहरूले अस्वीकार गरेका थिए ।

यसैलाई लिएर उनीहरूलाई ‘जनताको शत्रु’ (कुलाक) भन्ने दोष लगाईयो । यस्तो दुरावस्थाको सिर्जना गरेको कारणले अनाजको भण्डारमा असंख्य मानिसहरू मरेका थिए ।

आर्मेनियाको द्वन्द्व १९१५-१८

क्यास्पियन सागर र कृष्ण सागरको बीचमा अवस्थित आर्मेनियामा भएको नरसंहारमा परी १५ लाख आर्मेनियालीहरूले ज्यान गुमाएका थिए । यो बिसौँ शताब्दीको पहिलो नरसंहार थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?