मितेरी सहकारीमा छानबिन समितिको निरीक्षण : धनराजको ‘सहकारी डिभोर्स’ भएको टिप्पणी

लोकपथ
1.8k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले ललितपुरको महालक्ष्मीमा रहेको मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएपछि सूर्य थापाको संयोजकत्वमा रहेको समितिले स्थलगत निरीक्षण गरेको हो ।

संयोजक थापासहित सदस्यहरु शिशिर खनाल, दिलेन्द्र बढू, लेखनाथ दाहाल लगायतले सहकारीको निरीक्षण गरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग सोधपुछ समेत गरेका छन् ।

केही दिन अघि पूर्वपत्नी ज्योती गुरुङसँग मिलेर धनराजले करोडौँ रकम हिनामिना गरेको आरोप लागेको थियो । ज्योतीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेपछि धनराज पनि त्यसमा मुछिएका हुन् । तर धनराजले भने आफूले २०७६ सालमा नै सम्बन्ध विच्छेद गरिसकेको भन्दै त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । पूर्व श्रीमतीले लिएको ऋणमा साक्षी बसेका धनराजले नै त्यसको किस्ता तिरिदिने गरेको सहकारीका अध्यक्ष गुरुङले बताए ।

छानबिन समितिसँगको कुराकानीमा सहकारीका अध्यक्ष कुम्भराजले भने सम्बन्ध बिच्छेद भए पनि एक महिना अघि नै धनराजले ऋण तिरेको खुलासा गरेका छन् ।

‘…एक महिना अघि धनराजले नै आएर ऋण तिरेका हुन्,’ उनले भने । त्यस्तै उनले धनराजको भएको भनिएको सम्बन्ध विच्छेदमा समेत शंका गरेका छन् । उनले वास्तविक डिभोर्स नभएको समेत खुलाशा गरे ।

‘डिभोर्स भन्ने कुरानै नगर्नुहोस् भयो, डिभोर्स भएकै होइन वास्तविक,’ उनले भने ।

यता निरीक्षणमा गएका माओवादी सांसद समेत रहेका समिति सदस्य लेखनाथ दाहालले धनराज र उनको पत्नीबीच सहकारीको रकम पचाउन ‘सहकारी डिभोर्स’ गरेको टिप्पणी गरेका थिए ।

त्यसो त यसअघि नै समस्याग्रस्त रुपमा रहेको सहकारीमा परेको मितेरीका अध्यक्ष कुम्भराजसँग समितिले बयान लिएको थियो । बयानका क्रममा उनले धनराज र उनको पत्नी मिलेर मितेरी सहकारी डुबाएको बयान दिएका थिए ।

त्यस्तै छानबिन समितिसँग कुम्भराजले धनराज र उनको पूर्वपत्नी ज्योतीले पैसा तिरेमा अन्य बचतकर्ताहरुलाई रकम फिर्ता गर्न सहज हुने बताए ।

त्यस्तै बिहीबार नै समितिले विभिन्न अन्य १६ समस्याग्रस्त सहकारीको समेत निरीक्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?