कलैया । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ देखि ९ वर्ष उमेर समूहका छन् ।
प्रहरीका अनुसार, सिम्रौनगढ नगरपालिका–७ झवानीटोलका नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार, आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेकोमा राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । उनीहरुलाई सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।
माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । प्रहरीले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया