संसदीय दलको नेता हुँदा पनि यसकारण बनाइएन महेश यादवलाई मुख्यमन्त्री

आफूविरुद्ध चलखेल भएको यादवको गुनासो

लोकपथ
1.1k
Shares

काठमाडौं । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमाले, माओवादी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच जनमतलाई मुख्यमन्त्री दिने सहमति भएपछि मुख्यमन्त्रीको चर्चामा आएका व्यक्ति हुन् महेशप्रसाद यादव । जनमत पार्टीका तर्फबाट संसदीय दलको नेतासमेत भएकाले उनैलाई मुख्यमन्त्रीको दाबेदार ठानिएको थियो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि उनलाई अबको मुख्यमन्त्री भन्दै धेरैले बधाइ पनि दिए, उनले ग्रहण पनि गरे ।

तर जब जसपा नेपालका सांसद सरोजकुमार यादवले मुख्यमन्त्रीको रुपमा विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरे, समय विस्तारै महेशप्रसादका लागि प्रतिकुल बन्दै गयो । एमाले, माओवादी र उनको पार्टी जनमत स्वयंले नयाँ मुख्यमन्त्रीका रुपमा उनलाई अघि सारेन । प्रदेश सांसदका रुपमा मात्रै रहेका सतिश सिंहलाई अघि सारे । तिनै सतिश सिंहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरिसकेका छन् । नयाँ सरकार बनाउन भूमिका खेलेका दलहरुले मन्त्रालय भागबण्डाको सहमतिसमेत गरिसकेका छन् ।

यो समाचार लेखिरहँदा मुख्यमन्त्री सिंह शपथ लिने तयारीमा छन् । तर यही बेला जनमत पार्टीका संसदीय दलका नेता एवं मुख्यमन्त्रीका दाबेदार भनिएका महेशप्रसादले पार्टीभित्र आफूविरुद्ध चलखेल भएको गुनासो गरेका छन् । आफू संसदीय दलको नेता हुँदाहुँदै पार्टी नेतृत्वले सतीश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकोप्रति उनले घुमाउरो ढंगले असन्तुष्टि जनाएका हुन् । ‘पार्टीले गरेको निर्णयमा मेरो धेरै आपत्ति त केही छैन । निर्णयमा मेरो सहमति नै छ । सर्वसहमतिकै आधारमा यो निर्णय भएको हो । त्यो निर्णय सही नै होला,’ उनले भने, ‘तर, संसदीय दलको नेता म हुँदाहुँदै मुख्यमन्त्री अरुलाई बनाउने निर्णय भयो, यो निर्णय हुँदा चलखेल राम्रैसँग भएको छ ।’

महेशप्रसाद यादव सप्तरी २ (ख) बाट निर्वाचित सांसद हुन् । सिंह पनि सप्तरी २ (क) बाट निर्वाचित सांसद हुन् । यादवको राजनीतिक व्याकराउन्ड लामो छ । सिंह भने व्यवसाय छाडेर ९ वर्षअघि मात्रै पार्टी राजनीतिमा लागेका नेता हुन् । यादव २०५८ सालदेखि माओवादी जनयुद्धमा लागेका व्यक्ति हुन् । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा उनालाई माओवादीले टिकट दिएन । त्यसपछि उनले माओवादी छाडे । उनलाई जनमतले टिकट दियो । जिते पनि । जितेपछि संसदीय दलको नेता पनि बने । जनयुद्धमा लाग्नुअघि भने उनी जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट सभापतिसमेत बनेका थिए ।

हाल मधेस प्रदेशसभाको सभामुख पनि माओवादी पृष्ठभूमिकै रामचन्द्र मण्डल छन् । २०५२ सालदेखि नै जनयुद्धमा लागेका मण्डल एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपा विभाजनपछि भने एमालेमै रहेका नेता हुन् । यादवलाई मुख्यमन्त्री बनाउँदा सभामुख र मुख्यमन्त्री दुबै माओवादी पृष्ठभूमिबाट आएका पात्र हुने भएपछि जनमत संसदीय दलको नेता हुँदाहुँदै यादवलाई मुख्यमन्त्री नबनाइएको चर्चा अहिले चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?