एसपी अधिकारीले फेसबुकमा लेखेको स्ट्याटसले ल्याएको तरंग

उनले लेखेका छन्– गृहबाट बढुवा लिस्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?

लोकपथ
14.7k
Shares

काठमाडौं । नेपाल प्रहरीको माथिल्लो तहमा हुने अधिकांश बढुवा विवादित बनिरहेका बेला शुक्रबार भएको प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस पनि विवादभन्दा बाहिर जान सकेन ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरुवा/बढुवालाई पारदर्शी एवं विवादरहित बनाउने बताएपनि उनले गृह मन्त्रालयको बागडोर सम्हालेपछि भएका अधिकाँश सरुवा/बढुवा विवादित बन्दै आएको छ ।

गृहसचिव एकनारायण अर्याल अध्यक्ष रहेको बढुवा सिफारिस समितिले १८ जेठ (शुक्रबार राति) मा चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो । जसअनुसार, पहिलो नम्बरबाट क्रमशः एसपी श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङ बढुवा सिफारिसमा परेका थिए । तर सिफारिस समितिले गरेको बढुवा सिफारिसप्रति एक जना प्रतिस्पर्धीले गम्भीर असन्तुष्टि मात्र व्यक्त गरेका छ्र्रैनन्, गृह मन्त्रालयका अधिकारीहरुमाथि नै ‘बार्गेनिङ’ गरेको गम्भीर आरोप लगाएका छन् ।

त्यसो त, जहाँ पनि बढुवा हुनेहरु खुसी हुने र छुट्नेहरु असन्तुष्ट हुने कुरा स्वभाविक हो । कतिपयले असन्तुष्टि भएपनि मनमै राख्छन् । कतिपयले आफ्नो उचित मूल्यांकन नभएको भन्दै राजिनामा पनि दिएका छन् । तर अहिले बढुवाका एक जना प्रतिस्पर्धी एसपी गोविन्द अधिकारीले विभागीय गृह मन्त्रालयमाथि नै सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर आक्षेप लगाएका छन् । उनले लेखेका छन्, ‘गृहबाट बढुवा लिस्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’

स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिस सूचीमा एसपी अधिकारीको नाम थियो । त्यसैले उनी आफू बढुवा सिफारिसमा पर्नेमा ढुक्क थिए । तर बढुवा सिफारिस सूचीबाट अन्तिम समयमा उनको नाम काटिएको थियो । वरियतामा आफूभन्दा पछाडि रहेकाहरुलाई बढुवा सिफारिस गरिएको, तर कारबाही नै नभोगेको व्यक्तिलाई छुटाइएको आरोप एसपी अधिकारीको छ ।

त्यसो त एसपी गोविन्द अधिकारी तुलनात्मकरुपमा राम्रा अफिसरमा गनिन्छन् । उनी विवादित अफिसर पनि होइनन् । तर, बढुवा सिफारिस समितिले गरेको सूची हेर्दा विवादित र उनीभन्दा जुनियरलाई सिफारिस गरिएको देखिन्छ । बढुवाका लागि राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तण भई आएका दुई जना, २०५६ र २०५८ सालमा प्रहरी निरीक्षक भएकासहित २३ जना दाबेदार थिए । सिफारिस समितिले २०५६ का तीन जना र राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका एक जनालाई बढुवाका लागि सिफारिस गरेको थियो ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएका एसपी विमल बस्नेत सबैभन्दा सिनियर एसपी थिए । २०७७ सालमा कर्णाली प्रदेशको ट्राफिक प्रमुख रहेका बेला मातहतका टोलीबाट रकम असुलेको आरोप लागेपछि उनी निलम्बनमा परेका थिए । मातहत कार्यालयका हाकिमलाई धम्क्याउँदै रकम उठाएको र उनीहरूलाई समेत रकम उठाउन परिचालन गरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो ।

५ पुस २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका उनको ब्याचका सबै जना एसएसपी भइसक्दा उनी यो पटक पनि बढुवा सिफारिसमा पर्न सकेनन् । उनलाई जुन आरोपमा निलम्बन गरिएको थियो, त्यसबाट भने सफाइ पाइसकेका छन् । निलम्बनमा परेका कारण उनी यो पटक पनि बढुवा सिफारिसमा पर्दैनन् भन्ने धेरैको अनुमान थियो ।
२०५५ मा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी श्यामकृष्ण अधिकारी पनि बढुवा सिफारिसमा पर्दैनन् भन्ने धेरैको अनुमान थियो । उनको विवादित छबी र केही दिनअघि एसएसपीबाट डीआईजी बढुवा गर्दा राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरुलाई छुटाएर उनीहरुभन्दा जुनियरलाई ठाउँ दिइएकाले यो अनुमान गरिएको थियो । तर, उनी पहिलो नम्बरमा सिफारिस भए ।

श्यामकृष्ण अधिकारी तिनै प्रहरी अधिकृत हुन्, जो २०७८ भदौमा बाँकेको एसपी रहेका बेला नेपालगञ्जको मोजाङ मिनी क्यासिनोका एजेन्टसँग मदिरा र मोबाइल उपहार लिएर विवादमा परेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएपछि बल्ल उनले मदिरा र मोबाइल फिर्ता गरेका थिए । उनीमाथि निधेषाज्ञाका बेला एजेन्टसँग मिलेर निर्वाध रूपमा क्यासिनो चलाउन दिएको आरोपसमेत लाग्दै आएको छ ।

श्यामकृष्णपछि २०५६ को टोलीबाट क्रमशः हिराबहादुर पाण्डे, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, विनोद सिलवाल र भीमबहादुर दाहाल प्रतिस्पर्धामा थिए । यो टोलीका पाण्डे तिनै प्रहरी अधिकृत हुन्, जसले सिराहामा २०७९ सालमा जिल्ला प्रहरी प्रमुख हुँदा मदिरा सेवन गरेर कांग्रेस सिराहाका नेतालाई आक्रमण गर्ने धम्की दिएका थिए । सोही कारण उनको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो । त्यसैले उनी यो पटक बढुवामा पर्ने सम्भावना कम थियो ।
पाण्डेपछिका गुरुङ पनि विवादित प्रहरी अधिकृत हुन् । गुरुङले यसअघि बढुवामा नपरेको झोंकमा प्रहरी संगठनविरुद्ध सामाजिक सञ्जालमा विष बमन गरेका थिए । त्यसपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । यो टोलीका पाण्डेपछि गुरुङ र रेग्मी सिफारिसमा परे । तर गोविन्द अधिकारीलाई छुटाइयो । अधिकारी भन्दा तीन जना पछि अन्तिम नम्बरमा रहेका दाहाललाइ्र्र सिफारिसमा पारियो ।

दाहालविरुद्ध सवारी ज्यानको मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन छ । प्रदेश प्रहरी कार्यालय धरानमा रहेका बेला २०८० मंसिरमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडीको ठक्करबाट मे १० प १६६९ नम्बरको मोटरसाइकलका चालक अनिल मडीको मृत्यु भएपछि जिप्रका झापाले एसपी दाहाललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो । अदालतबाट उनी तारेखमा छुटे पनि मुद्दा भने विचाराधीन नै छ ।

त्यस्तै, २०५८ सालमा भर्ना भएको टोलीका अधिकांश अधिकृत तुलनात्मक रूपमा योग्य र कम विवादित भए पनि कोही पनि सिफारिसमै परेनन् । जबकि, एसएसपीबाट नायव महानिरीक्षक (डीआईजी) बढुवामा तीन ब्याच जुनियरलाई पनि सिफारिस गरिएको थियो ।

२०५८ सालको टोलीबाट एसपी रमेश थापा, रञ्जु सिग्देल, कृष्णप्रसाद पंगेनी, अजय केसी, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, नवराज अधिकारी, अनुपमशम्शेर जबरा, सन्तोष खड्का, श्यामकुमार महतो र वीरबहादुर बुढामगर प्रतिस्पर्धामा थिए । तर, उनीहरू कोही सिफारिसमा पर्न सकेनन् । अहिले एसएसपीमा बढुवा नहुनेका लागि असार र भदौमा ठाउँ खाली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?