दलित समुदायको अवस्थामा तात्विक सुधार आएको छैन : दलित आयोग

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्कयक्ष देवराज विश्वकर्माले संसद् संविधान र कानूनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेपनि दलित समुदायको अवस्थामा तात्विक सुधार आउन नसकेको बताएका छन् ।

उनले अहिलेपनि दलितहरुमाथिको छोइछिटो नहटेको, बरु त्यो विभिन्न पेशागत क्षेत्र र कार्यस्थलमा समेत विभिन्नरुपमा फैलिएको अवस्थामा रहेको बताएका छन् । सोमबार जातीय भेदभाव तथा छुवाछूतविरुद्धको १८ औँ राष्ट्रिय दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत् आयोगका अध्यक्ष विश्वकर्माले जेठ २१ दलित समुदायको मुक्ति दिवसकैरुपमा भएपनि त्यसपछि दलित समुदायको शशक्तिकरण, विकास र प्रोत्साहनका लागि सरकारले ठोस् पहल कदमी लिन नसकेको बताएका छन् ।

‘२०६३ जेठ २१ गते ऐतिहासिक रूपमा जातीय विभेद तथा छुवाछूत उन्मूलनको घोषणा गरिएको थियो । त्यो घोषणाले अब उप्रान्त कसैले जातीय भेदभाव, उचनीचको भावना, छुवाछूतको दुव्र्यवहार कसैलाई गर्न पाइने छैन । कसैले गरे त्यो दण्डनीय हुनेछ भन्ने आशय बोकेको थियो,’ आयोगका अध्यक्ष विश्वकर्माले भनेका छन्, ‘तर नेपालका झण्डै ६० लाखको संख्यामा रहेका दलित समुदाय अहिले पनि कुनै न कुनै प्रकारको जातीय भेदभाव, छुवाछूत, शोषण, दमन र अत्याचारको उत्पीडन खेपिरहेका छन् ।’

संविधानसभाबाट अग्रगामी सोच सहितको संविधान जारी भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा दलित समुदायको उत्थान र शशक्तिकरण हुन नसकेको उनको भनाइ छ । ‘पछाडि पारिएका समूहलाई अगाडि ल्याउन विश्वका कैयौँ मुलुकहरूले अनेकौँ अभ्यास गरेका छन् । ती सकारात्मक अभ्यासको अनुशरण गरेर दलित समुदायलाई विकासको उज्यालो घाममा समाहित गर्नु राज्यको कर्तव्य हो । राज्यले तर्किने र पन्छिने गर्न पाउदैन । किनकि दलितहरूलाई पछाडि राखेर देश अगाडि बढेको ठहरिन्नँ ।’

अध्यक्ष विश्वकर्माले संविधान र कानूनले जस्तोसुकै व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्ष कमजोर हुँदासम्म युगौँदेखि किनारामा बस्न बाध्य पारिएको समुदायलाई कानूनी प्रबन्धले मात्रै कुनै फरक नपर्ने बताएका छन् । ‘मूलधारमा आउन निषेध गरिएकाहरूका लागि कानुनी व्यवस्थाले मात्रै पुग्दैन । उनीहरुका लागि उपयुक्त वाताबरणको जरुरी पर्छ । त्यो उपयुक्त वातावरण बनाउन तीनै तहका सरकारको दायित्व हुन्छ,’ उनले भनेका छन् । उनले जातीय विभेद र छुवाछुतजस्तो कुसंस्कारले बहुसंख्यक नेपालीहरुलाई समाजमा सभ्य मानिस बन्न अवरोध गरिरहेको कुरालाई आत्मसात् गर्न सबै न्यायप्रेमीहरुप्रति आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?