लोकसभा निर्वाचनका लागि छुटेका केजरीवाल आज तिहाड जेलमा आत्मसमर्पण गर्दै

लोकपथ
3.1k
Shares

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अध्यक्ष अरविन्द केजरीवालले आज आइतबार अपरान्ह तिहाड जेलमा आत्मसमर्पण गर्ने भएका छन् ।

भ्रष्टाचार आरोपमा जेल चलान भएका केजरीवाललाई सर्वाेच्च अदालतले लोकसभा निर्वाचन प्रचारका लागि जेलबाहिर जान अनुमति दिएको थियो । लोकसभा निर्वाचन शनिबार सम्पन्न भइसकेको छ । उनी जेलबाट छुटेर २१ दिन चुनावी प्रचारमा हिँडेका थिए ।

१९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव भएको हो । मुख्यमन्त्री केजरीवाल आज दिउँसो ३ बजे घरबाट निस्केर राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली दिन जाने र हनुमान मन्दिरको दर्शनपछि पार्टी कार्यालयबाट जेल जाने कार्यक्रम रहेको छ ।

राजस्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई केही महिनाअघि पक्राउ गरिएको थियो । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टाको सोधपुछपछि उनलाई नियन्त्रणमा लिएका थिए ।

मदिरासम्बन्धी नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा ईडीले केही समयदेखि उनलाई सोधपुछका लागि बोलाउँदै आएको थियो । पक्राउको एक दिनअगाडि मात्रै ईडीले केजरीवाललाई १० औं पटक बोलाएको थियो । तर, दिल्लीका मुख्यमन्त्री केजरीवाल ईडीको विरुद्ध दिल्ली उच्च अदालत गएका थिए । तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि ईडीका अधिकारीहरू केजरीवालको गिरफ्तारीको तयारीसहित उनको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् ।

दिल्ली सरकारले तीन वर्षअघि मदिरा बिक्रीसम्बन्धी नयाँ नीति ल्याएको थियो । त्यही नीतिलाई दिल्लीमा विपक्षीको भूमिकामा रहेको भारतीय जनता पार्टीले ‘नीति घोटाला’ भन्दै केजरीवाल सरकारलाई घेर्दै आएको छ । २०२१ अगाडि दिल्लीमा मदिराको विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो । ईडीले सोही प्रकरणको छानबिन गर्दै आएको छ । एक वर्षअगाडि सोही मुद्दामा उपमुख्यमन्त्री मनीष सिसोदियालाई ईडीले पक्राउ गरेको थियो । अहिलेसम्म उनी हिरासतमै छन्  । केही महिनाअगाडि राज्यसभा सांसद सञ्जय सिंह पनि पक्राउ परे । मदिरासम्बन्धी नीति घोटालाबाहेक ईडीले केजरीवालमाथि दिल्ली जल बोर्डमा पनि भ्रष्टाचार गरेको आरोप पनि लगाएको छ ।

मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले भने ईडीको कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?