मधेस प्रदेशमा जसपा नेपाल ‘आउट’, जनमत ‘इन’

साढे ६ वर्षपछि मधेस सरकारको बागडोर गुमाउँदै जसपा

लोकपथ
413
Shares


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदबाट बाहिरिने लगभग निश्चितजस्तै भएको छ । यादव मुख्यमन्त्रीबाट बाहिरिएको अवस्थामा जसपा नेपाल पहिलोपटक मधेस प्रदेशको नेतृत्वबाट बाहिर जानेछ । २०७४ साल र २०७९ सालको निर्वाचनपछि सो प्रदेशमा निरन्तररुपमा जसपा नेतृत्वको सरकार छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेस प्रदेश मुख्यमन्त्रीलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको साथ छाडेर एमालेको समर्थनमा सरकार बनाएपछि र जसपा नेपाल स्वयं विभाजित बनेपछि उपेन्द्र यादव अहिले राजनीतिक जीवनकै कठिन मोडमा छन् । र, यसैको असर स्वरुप जसपा नेपालले पहिलोपटक मधेस प्रदेशबाट मुख्यमन्त्री गुमाउन लागेको छ ।

त्यसो त, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघीय सरकारबाट बाहिरिइसकेका छन् । उनले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको काउन्टर स्वरुप मधेस प्रदेशबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । उनले २३ गते विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।

त्यसो त, उपेन्द्र यादव स्वयंले मधेस प्रदेशबाट आफ्नो मुख्यमन्त्री नगुमाउन पहल नगरेका होइनन् । नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीको साथ लिएर उनले आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई नै निरन्तरता दिन खोजेका थिए । यो अभियानमा उनी सफलताको नजिक नजिक पनि पुगेका थिए । तर अन्तिम समयमा एकीकृत समाजवादीले बोली फेरेकाले उनको अभियानले फेल खाने निश्चितजस्तै छ । एमाले र माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसक्दा पनि मधेस प्रदेश सरकारमै रहिरहेको केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि आज आइतबार आफ्नो दलका दुई मन्त्रीलाई फिर्ता बोलाउँदै छ ।

‘आज हाम्रो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने र नयाँ सरकार गठन गर्ने तयारी छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘नयाँ सरकार जनमतको नेतृत्वमा बन्छ ।’ अब सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेर सरकार बनाउने तयारी छ । मुख्यमन्त्री भने जनमतलाई दिने ती दलबीच समझदारी भइसकेको छ । जनमत र जसपा नेपालबीच पानी बाराबारको अवस्था छ ।

त्यसो त मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुको तर्फबाट शुक्रबार नै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरिएको थियो । तर, एकीकृत समाजवादीका कारण सम्भाव भएको थिएन । तर, यी तीन दलको सांसद संख्याले मात्रै नयाँ सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन । त्यसका लागि नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ ।

१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठनको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । यी सबै जोड्दा ६१ हुन्छ ।

प्रदेशमा कांग्रेसका २२ र जसपाका १८ सांसद छन् । तर जसपा विभाजन भइसकेकाले उपेन्द्र यादवसँग मधेस प्रदेशमा कति सांसद छन्, स्पष्ट हुन सकेको छैन । जनमत पार्टीबाट मुख्यमन्त्रीका सम्भावित पात्र महेशप्रसाद यादव छन् । महेशप्रसाद यादव उनै व्यक्ति हुन् जो गत निर्वाचनमा माओवादीले टिकट नदिएपछि जनमत पार्टीबाट उम्मेदवार बनेर विजयी बनेका थिए । उनले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा माओवादीका उमेश यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?