नियम उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवकमा खटाउने गृहमन्त्रीको कदम विवादमा

लोकपथ
483
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई बुधबारदेखि कारबाहीका क्रममा ट्राफिक स्वयंसेवक बनाएर एक घण्टा सडकमै खटाउन थालेपछि त्यसबारे बहस सुरु भएको छ ।

नागरिकलाई नियम उल्लंघन गरेकै आधारमा ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउन थालिएसँगै सामाजिक सञ्जाल र समाजमा बहस सुरु भएको हो । विभिन्न तप्काका मानिसले यस विषयमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन मंगलबार सामाजिक सञ्जालमा महिला ट्राफिक महिनावारीका बेला ४ दिन खट्न नपर्ने र उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाइने घोषणा गरेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलिपल्टै बुधबारदेखि सडकमा ट्राफिक नियम उल्लंघनकर्ताहरुलाई उतारेको थियो ।

ट्राफिक कार्यालयका अनुसार बुधबार १ हजार ३ सय २ जना उल्लंघनकर्तालाई स्वयंसेवकका रूपमा खटाइएको थियो । बुधबार माइतीघर, रामशाहपथ, पद्मोदय मोड, पुतलीसडक, सिंहदरबार र भद्रकाली, ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटो, भक्तपुरको सल्लाघारी र सूर्यविनायक चोकमा उनीहरूलाई परिचालन गरिएको थियो ।

मापसे, लेन अनुशासन, द्रुत गति, ट्राफिक बत्तीको उल्लंघनलगायत कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा परिचालन गर्ने नीति ट्राफिक प्रहरीले लिएको छ ।उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार पहिला सचेतना कक्षामा सामेल गराएर ट्राफिक नियमबारे ज्ञान दिई स्वयंसेवा गर्न लगाइने नीति अंगिकार गरिएको छ । उनले भने, ‘८–१० जनाको समूहमा एक ट्राफिक अधिकारी रहने गरी स्वयंसेवकका रुपमा उनीहरुलाई परिचालन गरिने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता श्रेष्ठले स्वयंसेवकका रूपमा खटाइएकाहरूबाट कुनै दाबी विरोध नआएको दाबी गरे ।
उनले यसलाई ट्राफिक सचेतनाकै एक पाटोका रूपमा हेरिनुपर्ने तर्क गरे ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी पनेरुले भने ट्राफिक कारबाहीमा परेकालाई ऐनअनुसार सडकमा स्वयंसेवकका रूपमा ट्राफिक व्यवस्थापनका लागि खटाउने कानुनी व्यवस्था रहेको आफूलाई नलागेको बताए । उनले भने, ‘हुन त कारबाहीमा परेकाले सचेतना कक्षा लिनुपर्छ भन्ने कुरा पनि कानुनमा उल्लेख छैन । तर, त्यो सकारात्मक काम भएकाले सबैले मानिरहनुभएको छ । सायद यो पनि त्यस्तै होला ।’

ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्नेलाई कस्तो कारबाही गर्न मिल्छ भन्ने विषय यातायात व्यवस्था ऐनमा उल्लेख छ । ‘ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनकै अधीनमा रहेको ट्राफिक कारबाही गर्ने हो । उहाँहरूले पनि सोही आधारमा आफ्नो निर्देशिका पनि बनाउनुहुन्छ,’ उनले भने, ‘ऐनमा उल्लेख भएका व्यवस्था सडकमा लागू गर्ने निकाय ट्राफिक नै हो ।’
नेपाल प्रहरीका पूर्वडीआईजी एवं काठमाडौं उपत्यका प्रहरी कार्यालयका पूर्वप्रमुख केशव अधिकारीले ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनअन्तर्गत नै कारबाही गर्नुपर्ने बताए ।

‘ट्राफिकले आफैं कानुन बनाउन मिल्दैन । यातायात व्यवस्था ऐनलाई नै पालना गराउने हो,’ उनले भने, ‘तर, कहिलेकाहीं व्यावहारिक समस्या आउँदा केही कारबाही प्रक्रिया अवलम्बन गरेर आफूभन्दा उपल्लो निकायलाई जानकारी गराउनेसम्म गर्छ । तर त्यो क्षणिक हुन्छ ।’

वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले ट्राफिक प्रहरीले स्वयंसेवा भनेर कारबाहीमा परेकालाई सडकमा खटाउँदा त्यस्ता व्यक्तिले बिनाकरकाप स्वेच्छाले गरेका हुन् भने कुनै कानुन आकर्षित नहुने तर, यदि बलजफती स्वयंसेवाका नाममा सडकमा ट्राफिक व्यवस्थापनमा खटाइएको हो भने चाहिँ त्यो संविधानतः गलत हुने बताए ।

त्यसो त संविधानको धारा २९ को उपधारा ४ मा कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन पाइने छैन भन्ने उल्लेख गरिएको छ । ‘कारबाहीमा परेका जोकोहीले आफ्नो इच्छाले गर्छ भने त्यसमा केही अड्चन छैन । तर दबाब दिएर इच्छाविपरीत काममा लगाउन पाइँदैन भनेर संविधानले नै भनेको छ,’ वरिष्ठ अधिवक्ता खरेलले भने । उनका अनुसार संविधानको धारा २९ को उपधारा ४ ले नै ‘सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने कानुन बनाउन भने रोक लगाइएको छैन’ भन्ने उल्लेख छ । ‘यदि कसैलाई सडकमा खटाउने हो भने कानुन बनाउनुप¥यो । कसैको मौखिक आदेशकै भरमा गर्न मिल्दैन । त्यो गलत हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?