कसरी गर्ने रिसको व्यवस्थापन ?

लोकपथ
462
Shares

रिस प्रायःजसो हरेक व्यक्तिले कुनै न कुनै समयमा महशुस गरेको एक आधारभूत भावनात्मक तथा शारीरिक संवेग हो । जसरी हामी भावनात्मकरुपमा खुसी, दुःख, चिन्ता वा पीडा महशुस गर्दछौं, त्यसैगरी कुनै कारण वा परिस्थितिबश हामी रिसको पनि अनुभूति गर्ने गर्दछौं । त्यसैले रिस पनि हामीभित्रको एक भावना हो । मनोविज्ञानमा के भनिन्छ भने जब मानिसहरुको अगाडि कुनै प्रतिकुल वा जोखिमयुक्त परिस्थिति आउँछ तब ऊसँग तीनवटा विकल्पहरु रहन्छन् ।

पहिलो समस्यासँग भाग्नु, दोस्रो सामना गर्नु र तेस्रो स्तब्ध रहनु (सहनु) । जब व्यक्ति दोस्रो विकल्प अर्थात प्रतिकार गर्ने अवस्थामा आउँछ, तब ऊ आक्रामक हुन्छ र रिसको अनुभूति गर्दछ । मानिसहरु, जब स्वयं वा अन्य व्यक्तिका कारण भावनात्मक रुपमा विक्षिप्त हुन्छन्, वा विभेद, घृणा तथा अपहेलना जस्ता व्यवहारहरु महशुस गर्छन्, बदलाको भावना राख्छन्, डर वा त्रास महशुस गर्छन् वा जीवनमा केही कुरा गुमाउँछन्, तब उनीहरु भावनात्मकरुपमा रिस उठेको महशुस गर्छन् । तर रिस उठ्नु कुनै पनि कारणको प्रथम प्रतिक्रिया वा भावना नभई यो दोस्रो अवस्था हो किनकी रिस उठ्नुपूर्व उनीहरुले दुःख, पीडा वा त्रास जस्ता भावनाहरु महशुस गर्छन् ।

यहाँ पीडात्मक भावनाले मात्र रिस उठ्ने नभई रिस उठाउन अभिप्रेरित वा उत्तेजित बनाउने स्वयं व्यक्ति त्यस्ता सोचाईहरुले समेत महत्वपूर्ण भूमिका खेल्छ । रिस उठाउन अभिप्रेरित गर्ने यस्ता सोचाईहरुमा कुनै पनि परिस्थितिप्रतिको व्यक्तिगत अनुभव, बुझाई, आँकलन, मूल्यांकन, धारणा, व्याख्या जस्ता कुराहरुले महत्वपूर्ण भूमिका खेल्दछ, जसमा व्यक्तिले आफूलाई हानी हुने विचार राख्दछ ।

रिस उठाउने यस्ता सोचाईहरुका आधार के हुन् ?
मानिसहरु विभिन्न कारणले गर्दा जुनसुकै परिस्थितिलाई पनि प्रतिकुल तथा नकारात्मक अर्थमा व्याख्या गर्ने र प्रतिक्रिया स्वरुप रिसाउने गरेको पाइन्छ । सामान्यतया निम्न लिखित कारणहरुले गर्दा रिस मानिसहरुको प्रवृति बन्दै जाने र यसले व्यवहारिक तथा मानसिकरुपमा समेत असर पार्ने गरेको हुन्छ ।

 मानिसको बाल्य अवस्था तथा जीवन विकास
 विगतका अनुभवहरु
 वर्तमान परिस्थिति
 जीवनमा आइपरेका घटनाहरु
 सामाजिक तथा सांस्कृतिक परिवेश
 कुनै मानसिक समस्याको प्रभाव

रिसको सम्बन्धमा विद्यमान केही भ्रमहरु
हाम्रो समाजमा रिसाउने प्रवृतिलाई शक्ति, प्रतिष्ठा, दक्षता तथा बहादुरीसँग तुलना गर्ने गरेको पाइन्छ । हुनत पाषाण युगदेखि आजको आधुनिक युगसम्म आइपुग्दा यदि मानिसमा रिस भन्ने भावना नभई दिएको भए सायदै आज हाम्रो अस्तित्व रहन्नथ्यो होला । यस अर्थमा रिस जीवन निर्वाहका लागि रचनात्मक पनि हुँदो रहेछ भने अनियन्त्रित वा असामान्य अवस्थाको रिस विनाशकारी । तल केही समाजमा व्याप्त भ्रमहरु उल्लेख गरिएको छ, जुन नितान्त भ्रम मात्र हुन् ।

 इख र रिस नभएको मान्छे काम लाग्दैन ।
 यदि रिस पोखिएन भएन भने त्यो गुम्सिँदै जाँदा विष्फोट हुन्छ ।
 रिस त्यस बेला मात्र समस्या हुन्छ, जब त्यो व्यक्त गरिन्छ ।
 जति बुढो हुँदै गयो त्यति रिस बढ्दै जान्छ ।
 रिसाएर मात्र अरुसँग काम लिन सकिन्छ ।
 रिस भएन वा आक्रामक भइएन भने अरुले टेर्दैनन् ।

रिस सामान्य प्रतिक्रिया वा गम्भीर समस्या हो भन्ने कुराको निर्धारण यसको बारम्बारता, तिव्रता, अवधि र परिणाम जस्ता तत्वमा भर पर्दछ । प्रायःजसो Depression, Anxiety, Bipolar Disorder, ADHD, Personality Disorders जस्ता मानसिक स्वास्थ्य समस्याहरुमा व्यक्तिलाई समानरुपमा रिस उठ्ने समस्या देखा पर्दछ । त्यसैले अत्याधिकरुपमा रिस उठ्नु एक मानसिक स्वास्थ्य समस्या पनि हो । रिस उठ्ने बानीले हाम्रो स्वास्थ्य, सम्बन्ध, व्यक्तित्व वा कार्यसम्पादनलाई अभिवृद्धि गर्ने नभई त्यसमा समस्या उत्पन्न गर्ने कार्य गर्दछन् । त्यसकारण हरेक व्यक्तिले आफ्नो रिस उठ्ने बानीप्रति सचेत रहन, स्वमूल्यांकन गर्न तथा स्वव्यवस्थापन गर्न नितान्तै जरुरी छ ।

रिस व्यवस्थापनको तरिकाहरु
रिस व्यवस्थापनका विभिन्न तरिकाहरु रहेता पनि तपाईंंलाई सजिलो हुने गरी दैनिकरुपमा अभ्यास गर्नका लागि यहाँ केही तरिका उल्लेख गरिएको छ ।
 आफ्नो रिसलाई उत्तेजित बनाउने परिस्थिति वा तत्वको पहिचान गर्ने ।
 तपाईंंको रिसले तपाईंलाई सहयोग गरेको छ वा अप्ठेरो पारेको छ निर्धारण गर्ने ।
 रिस उठ्नुपूर्व जनाउ संकेतको पहिचान गर्ने ।
 रिस उठ्न सक्ने परिस्थितिबाट टाढा हुने ।
 गहिरो स्वास लिने ।
 आफ्नो सोच्ने शैलीमा परिवर्तन ल्याउने ।
 भावनालाई सकारात्मक रुपमा व्यक्त गर्ने अरु माध्यमहरुको खोजी गर्ने ।
 शान्त रहने उपायको अभ्यास गर्ने ।
 अन्तरव्यक्तिगत संवादका लागि सिपहरुको प्रयोग गर्ने ।
 समस्या समाधानका लागि प्रयास गर्ने ।
 आफ्नो सोचाई तथा भावनालाई पुनरावलोकन गरी सकारात्मक रुपमा परिवर्तन गर्ने ।
 फरक वातावरणमा रहने ।
 अरुको गल्तीको लागि माफी दिने अभ्यास गर्ने ।
 विश्वास गरेको मान्छेसँग कुराकानी गर्ने ।

माथि उल्लेखित कार्यहरुका साथै तपाईंले रिस व्यवस्थापनका लागि दैनिक स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ । जसभित्र पर्याप्त शारीरिक अभ्यास, निद्रा, पोषणयुक्त खानाका साथ साथै सकारात्मक सोचाईका लागि ध्यान र योग जस्ता कार्यहरु समेत गर्नुपर्ने हुन्छ । त्यति गर्दा पनि तपाईंको रिसाउने समस्यामा सुधार भएन भने तुरुन्तै तपाईंले मनोपरामर्शकर्ता वा विज्ञको सहयोग लिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?