मधेशको मुख्य समस्या नसमेटिएको भन्दै संसदमा बजेटको चर्को विरोध

काठमाडौं । सांसद वृषेशचन्द्र लालले सरकारले अघि सारेको समृद्धिको नारामा मधेशको मुख्य समस्या नसमेटिएको भन्दै बजेटको चर्को विरोध गरेका छन् ।

राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गरे ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६-०७७ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले मजदूर र गरीब किसान लगायत सबै समुदायलाई बराबर रुपमा समावेश गरेकाले बजेट उत्कृष्ट आएको टिप्पणी गरे ।

सांसद सरिता प्रसाईंले सरकारले हचुवाका भरमा बजेटको आकार बढाएको भन्दै प्रभावकारी कार्यान्वयनमा चुनौती हुने आशङ्का गरे । बजेटले महिला, वृद्धवृद्धा, अपाङ्ग र अशक्तलाई सम्बोधन गरेको, विद्यार्थीलाई स्कूलमै सेनेटरी प्याडको व्यवस्था गर्नुका साथै महिला स्वयंसेवीलाई समेत सम्बोधन गरेकाले बजेट समाजवादोन्मुख भएको सांसद उदया शर्मा पौडेलले बताइन् ।

सांसद वृषेशचन्द्र लालले सरकारले अघि सारेको समृद्धिको नारामा मधेशको मुख्य समस्या नसमेटिएको भन्दै बजेटको चर्को विरोध गरे । सांसद राजकुमार कुँवरले बजेट समग्रमा सकारात्मक रहेको भन्दै निम्न आयबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सकारात्मक रहेको बताए । उनले बजेटले शहीद, बेपत्ता र घाइतेको उपचार र सुरक्षाका पक्षमा पनि मौन रहेको भन्दै तिनलाई सम्बोधनका लागि आग्रह गरे ।

सांसद सिंहबहादुर विश्वकर्माले बजेट नेपाली जनताको संबैधानिक अधिकार रक्षा गर्दै राज्यको चौतर्फी विकासमा केन्द्रित भएको छ भने । उनले बजेट जनचाहनानुरुपको लोकप्रिय रहेको भन्दै शिक्षा क्षेत्रले प्राथमिकता पाउनु सकारात्मक भएको बताए । सांसद प्रकाश पन्तले बजेट वितरणमुखी र सस्तो लोकप्रियता मात्रै भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?