मनसुन एक साता ढिलो भित्रिने

काठमाडौं । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ ।

नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।” उनले भने । 

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । 

नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन् ।

जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए । मनसुन पूर्ण सक्रिय हुनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्प्रष्टसँग देखिनपर्ने हुन्छ ।

न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेकोको हुनुपर्छ । यसका साथै उच्च चापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ । सामान्यतया नेपालमा मनसुन  शुरु  हुने समय जुन १० हो ।

यसवर्ष मनसुन एक साता ढिलो गरी शुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गतवर्ष जुन ८ मा मनसुन शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?