पूर्वमन्त्री दिपक बाँस्कोटा किन हराए सक्रिय राजनीतिबाट ?

लोकपथ
130
Shares

काठमाडौं । पूर्वमन्त्री दिपक बाँस्कोटाले नेपाली राजनीतिमा करिब ५२ बर्ष विताए । नेपालको सहकारी आन्दोलनमा परिचित बाँस्कोटा २०५१ को संसदीय निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा गृह राज्यमन्त्रीका रूपमा काम गरे ।

विगत केही बर्ष यता बाँस्कोटा सक्रिय राजनीतिमा छैनन् । उनलाई केही दिनअघि हामीले राजनीति विश्राम लिनुको कारण सोध्दा,‘मैंले राजनीतिबाट सन्यास लिएको होइन, विश्राम लिएको हुँ’ भन्ने जवाफ फर्काए ।

‘मैंले करिब ५२ बर्षअघि वीपी कोइरालालाई भेटेर राजनीतिमा आएको हुँ । सुरुमा कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय हुँदा मेरो दाजुले पाँच दिन खाना खानु भएन । गाउँलेहरु चकित भए । यस्तो हुनुको पछाडि मलाई गोली हानेर मार्छन भनेर हो । त्यसबेला मैंले जोखिम मोलेर प्रजातनत्रका लागि राजनीति आउने निधो गरेको थिएँ,’ उनले राजनीति प्रवेश गर्दाको सुरुवातीको चरण सुनाए ।

पाँच दशक क्रियाशील राजनीतिमा रहँदा असल काम भन्दा पनि नेताहरुको नियतमा खोट पाएको बताउँदै उनले भने,‘मैंले अहिलेसम्म बीपी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला जस्तो उचाइ भएको नेता नै भेटिन । वीपीदेखि शेरबहादुर देउवासम्मलाई झेलेको छु तर पछिल्लो समय राजनीतिमा बिकृति भित्रयो । सक्रिय हुने अवस्थै रहेन ।’

राजनीतिमा सक्रिय नभएपनि टाढा बसेर सुझाव दिइरहेको उनले बताए । ‘म राजनीतिमा सक्रिय हुने परिस्थितिमा छैन । तर टाढा बसेर सुझाव दिइरहेको छु । हालैको कांग्रेस महासमिति बैठकमा पनि २३ बुँदे सुझाव पठाएँ । सुझाव ग्रहण गर्ने नगर्ने नेताहरुको काम हो,’ उनले ।

वीपी कोइरालाले भनेको र लेखेको कुरा बुझेर राजनीतिमा आएको बताएका बाँस्कोटाले भने,‘म राजीनामा दिएको थालमा चुठ्ने काम गर्दिन । युवा पुस्तालाई राजनीति बुझेर सही गतिमा हिडाउन आग्रह गर्दछु,’ हालै नेपाल न्यूज बैंकसँगको भेटमा उनले भने ।

२०७८ भदौको कृष्णअष्टमीका दिनबाट राजनीतिबाट विश्राम लिएका बाँस्कोटाले राजनीतिमा चरम विकृति रहेको सुनाए । विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेका उनी ०६४ पछि विस्तार राजनीतिबाट टाढा हुन थालेका थिए ।

‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी नहुने उनको प्रतिवद्धता छ । बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा लाग्ने उनले सुनाए ।

वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, संघ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उनको योजना छ । नेपाल महर्षि वैदिक फाउण्डेशनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २५ वर्षदेखि उनी क्रियाशील छन् ।

नेपालको सहकारी अभियानका एक जुझारु अभियन्ताको अलग्गै पहिचान बनाएका उनी विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षाको अभियानमा क्रियाशील छन् । उनी राष्ट्रिय सहकारी महासंघ लि.का पूर्वअध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?