संस्कृत ग्रन्थको अनुसन्धान र पाण्डुलिपि प्रकाशनका लागि अध्ययन केन्द्र स्थापना गरिने

लोकपथ
26
Shares

काठमाडौं । संस्कृत शिक्षाको प्रवर्द्धनका लागि भारत र नेपालका विद्वानहरूले हात मिलाएका छन् । यस अन्तर्गत प्रत्येक वर्ष दुवै देशका विद्वानहरूले अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गर्नेछन्। संस्कृत ग्रन्थ, विशेषगरी हिमाली राष्ट्रमा पाइने पाण्डुलिपिहरूमाथि अनुसन्धान र प्रकाशनको व्यवस्था गर्न अध्ययन केन्द्र स्थापना गरिनेछ।

काठमाडौंमा तीनदिने नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनको समापनमा पाँचबुँदे प्रस्ताव पारित भएको छ । कार्यक्रममा सहभागीहरुले महर्षि सान्दीपनी वेद विद्या प्रतिष्ठान, उज्जैनसँगको सहकार्यमा नेपालमा गुरुकुलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । प्रस्ताव अनुसार नीति रिसर्च फाउन्डेसन नेपालले दुवै देशको संस्कृत अध्ययन केन्द्रको प्रधान कार्यालयको रुपमा काम गर्नेछ । यस केन्द्रले संयुक्त अनुसन्धान गरी नेपाल र भारतका संस्कृत ग्रन्थहरूको प्रकाशनको व्यवस्था गर्नेछ। यसले नेपालमा पाइने संस्कृत पाण्डुलिपिहरू पनि अध्ययन गर्नेछ।

नेपालको पुरातत्व विभागमा पाँच लाख संस्कृत पाण्डुलिपिहरू संरक्षित

नेपालको पुरातत्व विभागमा करिब पाँच लाख अप्रकाशित संस्कृत पाण्डुलिपिहरू सुरक्षित रहेको अनुमान छ । नीति रिसर्चले आइतबार जारी गरेको विज्ञप्ति अनुसार भारतमा रहेका नेपाली संस्कृत विद्यार्थीहरुको भाषा सिकाइ क्षमता अभिवृद्धि गर्न तालिम कार्यक्रम आयोजना गरिने भएको छ । केन्द्रीय संस्कृत विश्वविद्यालय (दिल्ली) ले नेपालका गुरुकुलहरूको पुस्तकालयलाई सहजीकरण गर्ने र नेपालका संस्कृत शैक्षिक संस्थाहरूलाई आवश्यक पुस्तकहरू उपलब्ध गराउनेछ।

पाली र प्राकृत भाषाको पनि संरक्षण गरिने

सम्मेलनमा संस्कृत, पाली र प्राकृत भाषाको संरक्षणसँगै नेपाल र भारतको धर्म, संस्कृति, दर्शन, इतिहास र पुरातत्वको प्रवर्द्धन गर्ने संकल्प पनि पारित भएको छ । केन्द्रीय संस्कृत विश्वविद्यालय (दिल्ली) र इन्डिया फाउन्डेसन (दिल्ली) को सहयोगमा NITI रिसर्च फाउन्डेसनद्वारा आयोजित तीन दिने सम्मेलनमा दुवै देशका १२० भन्दा बढी संस्कृत विद्वान, प्राध्यापक र सरकारी अधिकारीहरूले भाग लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?