भुटानी शरणार्थी प्रकरण : ओलीका पीए शाक्यदेखि बादलसम्म, एमाले निकटमाथि होला अनुसन्धान ?

लोकपथ
294
Shares

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा ठूला मानिएका काण्डहरुको छानबिन भए । प्रमाण पुग्दा पनि नसमातिएका ‘हाइप्रोफाइल’हरु पक्राउ परी विभिन्न कारण देखाएर छुटे । जसको कारण अन्य ठूला काण्ड र व्यक्तिका बारेमा के होला भन्ने शंकाको विषय बनिरहेको छ ।

घटनामा दोषी देखिँदादेखिँदै पनि राजनीतिक पहुँचका आधारमा अनुसन्धान नै नहुनुले कानुुनी राज्यको उपहास भएको महसुस भइरहेको छ । भने कानुनी राज्यको आशमा रहेका नागरिकहरुमा नैरास्यता सिर्जना गरिरहेको छ । जसले भ्रष्टाचार संस्थागत हुँदै गएको प्रमाण देखिन्छ ।

काण्डहरु मध्येको ठूलो र ‘हाइप्रोफाइल’ जोडिएको काण्ड हो नक्कली भुटानी शरणार्थी प्रकरण । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा जोडिएका धेरै व्यक्तिहरु पक्राउ परे । तर सोही प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहित एमाले निकट व्यक्तिहरुमाथि भने सामान्य सोधपुछ समेत भएन ।

टेलिभिजनमा हुँदा होस् या खुला राजनीतिमा आउँदा भ्रष्टाचार र काण्डहरुको पर्दाफास गर्ने उद्घोष गर्ने वर्तमान गृहमन्त्री रवि लामिछानेले उनीहरुको छानबिन र सामान्य सोधपुछ समेत गराउन तादरुकता देखाएका छैनन् । सुन तस्करी प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परी स्वास्थ्यको कारण भन्दै हाजिरी जमानीमा छाडिएपछि लामिछाने पनि उही राजनीति सौदा मिलाउने पूरानै राजनीतिज्ञको अर्को रुप भन्दै आलोचना हुन थालेको छ ।

त्यसो त नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीबाहेक अन्यमाथि कुनै अनुसन्धानको प्रक्रिया अघि बढ्न सकेको छैन ।

सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलालले प्रहरीसँगको बयानका क्रममा नाम मुछेका व्यक्तिहरुमाथि कुनै छानबिन भएन । भण्डारी र दुलालले प्रहरीसँग गरेको बयानका आधारमा सरकारी वकिलको कार्यालयले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहसचिव रहेका वर्तमान अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पीए राजेश बज्राचार्यको समेत आरोपित रहेको उल्लेख रहेको छ । तर उनीहरुमाथि सामान्य समेत अनुसन्धान गरिएको छैन ।

घटनालाई फर्किएर हेर्ने हो भने ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्यले तत्कालिन उर्जामन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जिसी मार्फत् प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएरै २०७६ असोज मा एक करोड लिएको बयानमा उल्लेख रहेको छ । तर उनीहरुमाथि भने कुनै छानबिन र कारबाही प्रक्रिया नै अघि नबढ्नु राजनीतिक पूर्वाग्रह रहेको भन्दै आलोचना समेत भइरहेको छ ।

हाइ प्रोफाइल व्यक्तिहरु नै मुछिएको प्रकरणमा एमाले अध्यक्ष ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य र तत्कालीन काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले ‘निर्णय गर्न रकम अपुग भएको’ सुनाएका थिए । त्यसपछि तत्कालीन गृहमन्त्री बादलको क्वार्टरमा तत्कालिन उर्जामन्त्री रायमाझीसहितसँग भेट गराएपछि बज्राचार्य, शाक्य र स्थापितले एक/एक करोड रुपैयाँ बुझेको बयानमा उल्लेख छ ।

पूर्व गृहमन्त्री समेत रहेका कांग्रेसका बालकृष्ण खाँण समेत पक्राउ पर्दा अन्य हाइ प्रोफाइल व्यक्तिहरु पक्राउ पर्ने अपेक्षा गरिएको थियो । तर उनै पक्राउ परेकाहरुले नाम मुछेका व्यक्तिहरु भने खुलम्खुला रुपमा हिडिरहेका छन् । अझ एमाले निकट मानिने तत्कालिन गृहसचिव हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भने अझै अख्तियार जस्तो संस्थाको प्रमुखको हैसियतमा बिराजमान छन् ।

त्यसो त राजनीतिमा तरंग आउने भएकै कारण एक अर्कालाई जोगाउने खेल भने नेपालमा नौलो होइन । नजिकका व्यक्तिहरुलाई जोगाउने र चोख्याउने खेल जो वर्षौँदेखि चलिरहेको देखिरहिएकै थियो । नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा गर्ने हो भने तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्तमान अर्थमन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुुन एमालेसँग नजिक रहेकै कारण तत्कालिन समयमा गठबन्धन परिवर्तनको दाउमा रहेका कारण एमालेसँगको सम्बन्धलाई मध्यनजर गर्दै एमाले निकटका व्यक्तिहरुलाई जोगाउने खेल भएको स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष ओलीकै इच्छा अनुसार गृहमन्त्री बनेका लामिछाने पछिल्लो समय आशा गरिएको राजनीतिज्ञ मानिन्छन् । पहिलो कार्यकालमा ओलीले लगाएको गुन तिर्न प्रहरीको फरार सूचीमा रही नेताहरुको वरिपरि घुमिरहेका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आलोचित बनेका थिए । कोइरी सिंहदरबार र बालुवाटारमा निष्फिक्री हिँडदा समेत गृहमन्त्री लामिछानेको नजरमा नपरेको भनेर आलोचना भएको थियो । त्यसो त दोस्रो पटक गृहमन्त्री भएसँगै माओवादी निकटका व्यक्तिहरुलाई पक्राउ गरेर केही आशा जगाए जस्तो गरिए पनि पुनः विभिन्न कारण देखाउँदै छाडिएपछि अरु काण्डहरुको फाइल र दोषीहरुको विषय के होला भनेर शंका गर्न थालिएको छ ।


एमाले नेताहरु जोडिएको विभिन्न काण्डहरु खुल्ने डरले नै होला सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको बचाउमा एमाले अध्यक्ष ओली लागिरहेका छन् । स्वार्थ बाझिने मन्त्रालय नै रोजाइमा परेको भन्दै आलोचनाकाबीच एमाले नेताहरुले रविको बचाउमा लाग्नुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुको उन्मुक्ति हो भन्दै आलोचना समेत हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?