सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

लोकपथ
35
Shares

इलाम । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले पपपपपपपपपपएक सयभन्दा बढी मूल्य पाएका छौँ ।”

राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । “चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि गर्दैन, बिक्री मूल्य पनि राम्रो पाइन्छ,” किसान मनबहादुर राईले भने, “गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुन्छ ।”

यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, आरवलक्षि, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ अब सुरु हुन लागेको मन बहादुरले बताए । उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ । हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो ।

उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको छ । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ ।

“पहिले भारतले यहाँको चिया किन्दा सिएफएल परीक्षण गथ्र्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ,” नगरप्रमुख रणबहादुर राईले भने, “यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।”

चियाको टिपाइ सुधार गर्न नगरपालिकाले तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरिरहेको नगरप्रमुख राईले बताए । “टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भइरहेको छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ पनि अबको केही महिनाभित्रै सञ्चालन हुँदैछ ।”

नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । “गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिक उन्मुख अभियान चलाइरहेका छौँ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?