बालबालिकालाई कस्ता कुराहरु सिकाउने ?

लोकपथ
2.7k
Shares

बालबालिकाको पहिलो पाठशाला घर हो । घरको वातावरण अनुसार उनीहरुको व्यक्तित्व विकास भइरहेको हुन्छ । पछिल्लो समय प्रविधिको विकाससँगै बालबालिका पनि स्मार्ट बन्दै गइरहेका छन् । पुस्ता अनुसार बालबालिकाको रुचि, आवश्यक्ता र चाहना समेत फेरिँदै गइरहेको छ । तर हामीले उनीहरुलाई राम्रोसँग गाइड गर्न नसक्दा र उनीहरुको मनोविज्ञानबारे राम्रो जानकार नहुँदा त्यसको नकारात्मक असर परिरहेको हुन्छ । बालमस्तिस्कमा परेको असर पछिसम्म पर्छ जसले उनीहरुको व्यक्तित्व त्यस्तै बन्न जाने गर्दछ । कतिपयले त्यसलाई वंशाणुगत गुण हो भनेर पनि भन्ने गरेका छन् । वंशाणुगत गुणको कारण उनीहरुमा केही त्यसले असर गर्ने भए पनि पारिवारिक वातावरणले उनीहरुको व्यक्तित्व कस्तो बनाउने भन्ने निर्धारण गर्दछ । त्यसकारण सकेसम्म बालबालिकाको वृत्ति बिकासका बेला हामीले सावधानी अपनाउनुपर्दछ ।

बालबालिकालाई के सिकाउने ?

सामाजिक वातावरणमा हुर्काउने


पछिल्लो समय बालबालिका प्रविधिसँग भिजेका हुन्छन् । खाना खान नमान्दा विभिन्न भिडियोको सहायतामा खाना खुवाउने बानीले उनीहरुमा मोबाइलप्रतिको लत बस्दछ । जसको कारण उनीहरु पछिसम्म अन्य व्यक्तिहरुसँग कुराकानी गर्ने नयाँ विषयवस्तुमा छलफल गर्ने, भेटघाट गर्ने भन्दा पनि मोबाइलमा झुण्डिने बानी बन्दछ । त्यसले उसको सामाजिक व्यक्तित्वमा ठूलो असर गरिरहेको हुन्छ । त्यसकारण बालबालिकालाई सानैदेखि पारिवारिक वातावरणमा घुलमिल गराउने, एक अर्कामा आदरसत्कार र माया सिकाउने गर्नुपर्दछ ।

अध्ययनशील बनाउने

बालबालिकाको पहिलो पाठशाला घर हो । घरको वातावरणले पनि उनको व्यक्तित्व विकासमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । प्रविधिको विकासले बालबालिकालाई प्रविधिसँग त भिजाएको छ तर उनीहरुको वौद्धिकतामा असर गरिरहेको छ । सानैमा लागेको बानी पछिसम्म रहन्छ त्यसकारण उनीहरुलाई मोबाइलको सट्टा विभिन्न नयाँ नयाँ विषयवस्तुका किताबहरु दिने गर्नुपर्दछ । त्यसले उनीहरुमा पढ्ने बानी बस्न जान्छ । त्यसले पछिसम्म उनीहरुलाई अध्ययनशील बनाइ बौद्धिक स्तर समेत राम्रो हुन्छ ।

घरायसी कामहरु सिकाउने

प्राय अभिभावकहरुले बालबालिकालाई अन्य कामहरु नलगाई पढाइमा मात्र फोकस गर्ने गरिरहेका हुन्छन् । सानैबाट उनीहरु पढाइ बाहेक अन्य काम नलगाएपछि व्यवहारिक जीवनमा प्रवेश गर्दा उनीहरुमा काम गर्ने प्रवृति कम हुँदै जान्छ र हरेक काममा परिवार र अरुको भर पनुपर्ने अवस्था सिर्जना हुने गर्दछ । त्यसकारण उनीहरुलाई घरायसी कामहरुमा सरिक गराउनुपर्दछ । त्यसले गर्दा अभिभावक बाट छुट्टिएर बस्दा पनि उनीहरुलाई सहज हुन्छ ।

बालबालिकाको अघि कहिल्यै झगडा नगर्ने

प्राय अभिभावकहरु साना साना कुरामा बालबालिकाको अघि झगडा गर्ने गर्दछन् । त्यसले उनीहरुको बालमस्तिष्कमा नकारात्कम असर परिरहेको हुन्छ । उनीहरुले आफ्ना अभिभावकको झगडा गर्ने बानीले उनीहरुलाई असर गरे पनि उनीहरुले त्यसलाई व्यक्त गर्न सकिरहेका हुँदैनन् । त्यसकारण साना तिनादेखि ठूला इस्यूमा अभिभावकले बालबालिकाको अघि मनमुटाव र झगडा गर्नु हुँदैन ।

हरेक परिस्थितीसँग जुध्न सिकाउने

हामी सकेसम्म बालबालिकालाई अभाव र दबाब देखाउँदैनौँ । त्यसले उनीहरुलाई परिवार सधैँ सहज परिस्थितीमा रहेको देखाउँछ । एक किसिमले उनीहरुलाई त्यसले सकारात्मक त बनाउँछ तर परिस्थिती अनुसार चल्न सक्ने बनाउँदैन । कुनै अभाव आएमा उनीहरुले त्यसलाई कसरी फेस गर्ने भन्ने जान्दैनन् । त्यसकारण बालबालिकालाई सधँै हरेक परिस्थितीसँग जुध्न सक्ने बनाउनुपर्दछ ।

धुमपान र मध्यपानबाट टाढा राख्ने

प्राय अभिभावकहरु बालबालिकाकै अघि धुमपान र मध्यपान गर्ने गर्दछन् । अझ कतिपयले त उनीहरुलाई नै चुरोट खैनी लगायतका धुमपान र मध्यपानका साधनहरु किन्न पठाउने गर्दछन् । त्यसले उनीहरुमा विस्तारै बानी बिग्रिन जान्छ र पछि कुलतमा फस्ने सम्भावना समेत बढाउँदछ । त्यसकारण अभिभावकले नै त्यसलाई मध्येनजर गरेर उनीहरुलाई त्यसबाट टाढा राख्ने गनुपर्दछ ।

यसरी बालमस्तिष्कमा असर पार्ने कुराहरुबाट अभिभावकहरु सचेत रहनुपर्दछ । आजका बालबालिका भोलिका कर्णधार बनाउनका लागि हामीले घरमै उचित वातावरण सिर्जना गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?