जनताका सवाल बिर्सिँदै आरोप प्रत्यारोपको थलो बन्यो संसद

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । अघिल्लो अधिवेशनमा संसद बैठक प्रभावकारी हुन नसकेको भनेर आलोचनाकाबीच सुरु भएको संसदको हिउँदे अधिवेशन पनि जनताका मुद्दामा केन्द्रीत नहुने संकेत देखिएको छ ।

गत माघ २२ गतेबाट संसदको हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशन अन्तर्गतका बैठकहरुमा पनि निरन्तर आरोप प्रत्यारोपमा संसद रुमल्लिन थालेको छ ।

गणपूरक संख्या नपुुगेपछि राजनीतिक दलसम्बन्धी विधेयक अघि बढ्न सकेको थिएन ।

शुक्रबार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रमुख प्रतिपक्षीले संसदलाई असहयोग गरिरहेको आरोप लगाएका थिए ।

बिहीबार कांग्रेस सांसदहरु महासमिति बैठकमा हुँदा राजनीतिक दलसम्बन्धी विधेयक पेश भएको र एमाले सांसदहरु पनि बाहिर निस्किएर गणपूरक संख्या नपुर्याउदै संसदलाई असहयोग गरेको आरोप लगाए । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले उठेर त्यसको विरोध गरेका थिए । एमाले सांसदहरुले प्रतिपक्षी दलहरुले संसदलाई निरन्तर सहयोग गरिरहेको भन्दै आफ्ना कुराहरु सरकारले नै सुन्न नचाहेको बताएका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले आफूहरुले उठाएको सवालमा सरकार गम्भीर नरहेको आरोप लगाएका थिए ।

त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद क्यालेन्डर अनुसार चल्ने भनेर भनिए पनि पार्टीका बैठकको नाममा सत्ता पक्षले नै संसदलाई असहयोग गरिरहेको भन्दै कटाक्ष गरे । साथै आफूहरुले सरकारलाई रचनात्मक रुपमा सहयोग गरिरहँदा सत्ता पक्षबाट मानमर्दन भएको आरोप लगाए ।

त्यस्तै अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरुले सरकारलाई निरन्तर सहयोग गरिरहँदा आफ्ना कुराहरु सरकारले सुन्न नचाहेको आरोप लगाए । साथै आफूहरुले बैठकमा उठाएका सवालमा सरकार लचक हुन नसके संसद बैठक बिदा गरेर रत्नपार्कमा भाषण गरे हुने भन्दै कटाक्ष गरे ।

त्यसपछि बोलेका सत्तारुढ दल नेकपा एमालेका सांसद माधव सापकोटाले संक्षिप्त समय भनेको कति मिनेट हो भन्दै सभामुखलाई नै प्रश्न गरे । त्यस्तै बैठकमा सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै प्रतिपक्षीले संसदलाई असहयोग गरिरहेको आरोप लगाए । साथै उनले संसद बैठक बस्न नदिने उद्घोष गरेका राप्रपाका प्रमुख सचेतक शाहीलाई लक्षित गर्दै राजीनामा दिएर सडकमा जान समेत चेतावनी दिए ।

सत्ता र प्रतिपक्षी दलको लामो वादविवाद मिलाउन नसकेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

त्यसो त यसअघिका बैठकहरुमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले बालकुमारी घटनामा दोषी देखिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित गृहमन्त्रीको समेत राजीनामा मागेका थिए । साथै अख्तियारले छानबिनका लागि बोलाएका मन्त्रीहरुले लाज पचाएर अहिले पनि मन्त्रीको झण्डा हल्लाएर हिँडिरहेको भन्दै राजीनामा नदिए संसदमा अवरोध खडा गरिरहने भन्दै कटाक्ष गरेका थिए ।

सभामुखले सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण भएको जानकारी गराइरहे पनि संसद बैठक प्रभावकारी हुन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?