विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ : ओली

 काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गरेका हुन् ।
    विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानूनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    “सबैभन्दा पहिला विमानस्थलका अधिकृतलाई तालीम दिनुपर्दछ, उनीहरूलाई दम्भ छोड भन्नुपर्छ, देशको ‘इमेज’ बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन, विमानस्थलमा त नेपालका बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो”, प्रधानमन्त्री ओलीले थपे ।
 
    प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई एकजुट भएर लाग्न आग्रह गरे ।
 सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्नेमा उनको जोड थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?