वीरेन्द्रनगरका मुख्य सडकमै सवारीचालकको मनलाग्दी पार्किङ

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाको मुख्य सडकमै सवारीचालकले मनलाग्दी पार्किङ गर्ने गरेका छन् । नगरपालिकाले पार्किङ क्षेत्रको व्यवस्थापन गर्न नसक्दा सवारीचालकले सडक क्षेत्रमै पार्किङ गर्नुपरेको हो ।

हालसम्म पार्किङ क्षेत्र नबन्दा प्रदेश राजधानीका रुपमा स्थापित शहरको सौन्दर्य कुरुप बन्दै गएको छ । मुख्यबजार क्षेत्रको दायाँबायाँ यातायातका साधन पार्र्किङ गरिँदा व्यवसायीदेखि पैदलयात्रीले समेत सास्ती झेल्नुपरेको छ । वीरेन्द्रनगर–६ का व्यवसायी सौगात ढुङ्गानाले नगरपालिकाको उदासिनताका कारण बजारक्षेत्र अस्तव्यस्त बनेको गुनासो गरे ।

ट्राफिक प्रहरीले बजार प्रवेशद्वार मङ्गलगढी चौकमा अस्थायी बसपार्क सञ्चालनमा आउँदा सवारी व्यवस्थापनमा समस्या देखिएको जनाएको छ । मङ्गलगढीचोक, बीचबजार, नेताचोकलगायतमा क्षेत्रमा सवारी चाप बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले अस्थायी रुपमा सडक किनारामै सवारी पार्किङको व्यवस्थापन गरेको थियो । तर, वर्षौँ बित्दा पनि नगरपालिकाले उचित पार्किङस्थल बनाउन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर क्षेत्रीले बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । ट्राफिक प्रहरीका अनुसार वीरेन्द्रनगरभित्र दैनिक करीब २५ हजार सवारीसाधन सञ्चालनमा आउने तथ्याङ्क छ ।

नगरप्रमुख देवकुमार सुवेदीले फुटपाथ र पार्किङ क्षेत्र व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग मिलेर नगरपालिकाले योजना बनाएको जानकारी दिए । नगरपालिकाको आफ्नै जग्गा नहुँदा पार्किङ क्षेत्र तोक्न समस्या भएको उल्लेख गर्दै उनले, “उपत्यका नगर विकास समितिसँग जग्गा उपलब्ध गराउन समन्वय गरिरहेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?