ओलीले भने–अर्को निर्वाचनमा नेकपाको दुई तिहाई पक्का

धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताएका छन् ।

 सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी  र जनवर्गीय संगठनको एकीकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारे ।

 “पार्टी एकीकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहँदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ” प्रधानमन्त्री ओलीले भने ।

  प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

 “वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ ” प्रधानमन्त्री ओलीले भने ।

 कतिपयले एउटै जंगलमा दुईटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुईवटा शेर मिलेर बसेको प्रधानमन्त्री ओलीको भनाइ छ । “धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिउँ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन् ” प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले भने “नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्व प्रधानमन्त्री भएको पार्टी हो र,अरु धेरै क्षमतावान नेता भएको पार्टी हो । यसले नै देशलाई सही दिशामा अघि बढाउँछ्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?