सावधान ! घुस दिने पनि कारबाहीमा

काठमाडौँ–नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन ।
 जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र होइन दिनेलाई समेत कारवाही गर्ने गरेको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले घुस लिने ट्राफिक प्रहरीका साथै घुस दिने व्यक्ति (चालक) खराव देखिएकाले कारवाही चलाइएको बताए ।
महाशाखाका अनुसार साउन महिना यता सातजना चालकलाई कारवाही गरिएको छ । ट्राफिक नियम उल्लङ्घनको कारवाही गर्दा एकसयदेखि एकहजार रुपियाँसम्म घुस दिँदै गरेको अवस्थामा ती चालक कारवाहीमा परेका हुन् ।
पृथ्वीनारायण शाहले आफ्नो दिब्य उपदेशमा ‘घुस लिन्या र दिन्या दुबैलाई देशका शत्रु’ भनेको छन् । घुस दिने व्यक्तिलाई कारवाही नगर्दा ट्राफिक प्रहरीमा घुस लिने समस्या झन् फष्टाउने चुनौती देखिएको उनले बताए ।
‘घुस लिने ट्राफिक प्रहरीलाई त कारवाही हुन्छ नै तर दिने व्यक्तिलाई उन्मुक्ति दिँदा अर्को ट्राफिक कारवाहीको भागिदार बन्छ ’ उनले थपे,‘ घुस दिने व्यक्ति कानुनको परिपालना भन्दा घुस दिएर उन्मुक्ति पाउन उद्दत हुन्छ । त्यसैले दुबैलाई कारवाही गरेका हौँ ।’ गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?